Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


रौतहट-१ मा पनि चुनावी सरगर्मी ह्वात्तै बढ्याे (भिडियाे रिपोर्ट)

प्रतिष्ठा जोगाउने र बदला लिने होडमा उम्मेदवार

0
Shares

रौतहट । रौतहट-१ मा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उमेदवारी दिएको यो क्षेत्रमा विरासत जोगाउन र नयाँ इतिहास लेखाउन उम्मेदवारहरु मतदाता रिझाउने अभियानमा सक्रिय भएका हुन् ।

राजनीतिक दलहरूबीचको कडा प्रतिस्पर्धा, प्रभावशाली उम्मेदवारहरूको उपस्थिति र स्थानीय राजनीतिक समीकरणका कारण यो क्षेत्र अहिले चुनावी चर्चामा छ । उम्मेदवारहरुले यस पटक घरदैलो भन्दा पनि टोल, वडा भेला गरी आफूप्रति मतदाता आकर्षित गर्न खोजिरहेका हुन् । पूर्वप्रधानमन्त्री मार नेपाल चौथो पटक यहि क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा छन् । २०५६, २०७० र २०७९ मा यस क्षेत्रबाट विजयी भएका नेपाल २०६४ सालमा भने तत्कालिन माओवादी उम्मेदवार देवेन्द्रप्रसाद पटेलसँग पराजित भएका थिए ।

२०७९ मा नेपाली कांग्रेस–माओवादी गठबन्धनबाट चुनाव जितेका नेपाल यस पटक गठबन्धन विहीन अवस्थामा चुनावी प्रतिस्पर्धामा रहनुभएकाे हाे । नेपालका प्रतिद्वन्दीमा एमालेका अजयकुमार गुप्ता, कांग्रेसका अनिलकुमार झा, जसपाका योगेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी छन् । यस पटक नेपाललाई विरासत जोगाउन निकै चुनौती देखिएको छ । नेपाल भने राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव रहने भएकाले आफूले चुनाव जित्ने दावी गर्नुभएकाे हाे ।

मधेश केन्द्रित दलबाट राजनीति गर्दै आएका अनिलकुमार झा यस पटक क्राग्रेसबाट उम्मेदवार बन्नुभएकाे छ । २०७९ सालको चुनावमा कांग्रेसले पाएको मत र आफूले लोसपामा हुँदा पाएको मतको जोड नै आफ्नो जितको आधार भएको झाको दावी छ ।
त्यसैगरी यसअघिसम्म मधेश केन्द्रित दलबाट राजनीति गर्दै आएका अजय गुप्ता यस पटक एमालेबाट यस क्षेत्रमा उम्मेदवार बनेका छन् । यसअघिका दुई वटै निर्वाचन हारेका यादव यस पटक दुई पटककै हारको बदला लिने जिकिर गर्नुभएकाे हाे।

कांग्रेसमा लामो समय राजनीति गर्दा पनि कुनै अवसर नपाएर असन्तुष्ट बनेका राजेश चौधरी यस पटक रास्वपाबाट उम्मेदवार बन्नुभएकाे छ । विगतमा स्वतन्त्र उमेदवारी दिने र हार्ने गर्दै आएका चौधरी देशभरीको रास्वपाको लहरको फाइदा आफूलाई पनि हुने आसामा देखिन्छन् । त्यसैगरी जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका योगेन्द्र चौधरीले रौतहटको-१ मा अहिले पनि शिक्षा स्वास्थ्य र पूर्वाधार जस्ता सुविधा नपुगेकाले आफ्नो ध्यान त्यसमा जाने बताउनुभएकाे छ।

उम्मेदवारहरुले घरदैलो, कोणसभा र आमसभामार्फत मतदातालाई आकर्षित गर्ने प्रयास तीव्र बनाउँदै गर्दा मतदाताहरु भने रोजगारी, कृषि, सडक पूर्वाधार, शिक्षा स्वास्थ्य जस्ता विषयमा जोड दिइरहेका छन् । १ लाख ८ हजार ७ सय २६ मतदाता रहेको रौतहटको यस क्षेत्रमा यादव, मुस्लिम र तेली, ब्राह्मण र तामाङ समुदायको जनसंख्या बढी छ ।

पाँचौ पटक उम्मेदवार बनेका नेपाललाई यो निर्वाचनमा प्रतिष्ठा जोगाउने चिन्ता छ। अन्य उम्मेदवारलाई भने इतिहास रच्ने अवसर पनि हाे ।