एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता जारी रहने बताउनुभएको छ ।
ह्वाइट हाउसमा भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको बैठकपछि उहाँले यस्तो धारणा राख्नुभएको हो । इरानसँगको वार्ता जारी राख्नुपर्ने आफ्नो अडान बाहेक अन्य कुनै निश्चित निष्कर्ष ननिस्किएको बताउनुभयो । यदि सम्झौता सम्भव भयो भने त्यो आफूहरुको प्राथमिकता हुने उहाँको भनाइ छ । यदि भएन भने नतिजा के हुन्छ भनेर हेर्नुपर्ने बताउनुभयो । दुवै नेताहरूले गाजा र समग्र क्षेत्रमा भइरहेको प्रगतिका बारेमा पनि छलफल गरेका हुन्। ट्रम्पको दोस्रो कार्यकाल शुरु भए यता यी दुई नेताबीचको यो सातौं भेटवार्ता हो ।
जुन करिब तीन घण्टा चलेको थियो । भेटअघि नेतन्याहूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेट गरी बोर्ड अफ पीस (शान्ति बोर्ड) को सदस्यको रूपमा हस्ताक्षर गर्नुभयो । इजरायली संसद्मा यो पहल विवादास्पद रहेको फक्स न्युजले जनाएको छ । वासिङ्टन भ्रमणअघि नेतन्याहुले पत्रकारसँग कुरा गर्दै आफूले राष्ट्रपतिसमक्ष इरानसँगको वार्ताका सिद्धान्तहरूका बारेमा हाम्रो अवधारणा प्रस्तुत गर्ने बताउनुभयाेे । जुन इजरायलका लागि मात्र नभई मध्यपूर्वमा शान्ति र सुरक्षा चाहने सबैका लागि महत्वपूर्ण हुने उहाँकाे भनाइ छ ।
उहाँको कार्यालयका अनुसार प्रधानमन्त्री नेतन्याहुले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा सीमा तोक्न र हमास तथा हिजबुल्लाह जस्ता समूहसँगको सम्बन्ध विच्छेद गर्न चाहनुभएको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले सन् २०१५ को परमाणु सम्झौता भन्दा राम्रो सम्झौता हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । तर आफ्नो क्षेप्यास्त्र कार्यक्रममा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । वासिङ्टन र तेहरानबीच गत शुक्रबार ओमानको राजधानी मस्कटमा अप्रत्यक्ष वार्ता भएको थियो ।
राष्ट्रपति ट्रम्पले वार्ता असफल भएमा इरान विरुद्ध सैन्य कारबाहीका लागि मध्यपूर्वमा दोस्रो विमानवाहक युद्धपोत समूह पठाउने विषयमा विचार गरिरहेको पनि बताउनुभएको छ ।






प्रतिक्रिया दिनुहोस्