काठमाडाैं । बर्दियामा आगामी निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती शुरु गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा जिल्लामा पनि संयुक्त सुरक्षा गस्ती शुरु गरिएको हो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा गस्ती शुरु गरिएको छ । निर्वाचनलक्षित सुरक्षा योजना अन्तर्गत बर्दियामा २ हजार २ सय २५ जना निर्वाचन प्रहरी, एक हजार ८ सय २२ जना नेपाल प्रहरी, सात सय ५५ जना सशस्त्र प्रहरी र ३ सय ५० जना नेपाली सेनाद्वारा निर्वाचनलक्षित सुरक्षा योजना अन्तर्गत संयुक्त गस्ती शुरु गरिएको हो ।
गुलरिया, मधुवन नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिका नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएका स्थानीय तह हुन् । जिल्ला सुरक्षा समितिको बैठकले यसअघि नै सीमावर्ती गाउँसहित बर्दियाका विभिन्न स्थानका ३९ वटा मतदान स्थललाई संवेदनशील मतदान स्थलका रूपमा राखेर साेही क्षेत्रमा पनि विशेष किसिमको सुरक्षा गस्ती बढाएको छ ।
बर्दियाका विभिन्न बजारमा र ग्रामीण भेगमा संयुक्त गस्ती पुग्न शुरु गरेपछि निर्वाचनको वातावरण बन्दै गएको देखिएकाे स्थानीयहरुले बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्