काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्त विहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको दावी गर्नुभएकाे छ।
काठमाडौंमा साेमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित आफ्नो पार्टी राष्ट्रिय संकट सामना गर्न तयार रहेको उद्घोष गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गर्नुभयो । उहाँले विचार, राजनीति, इतिहास नभए पनि सामाजिक सञ्जालमा फण्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने कोशिस भइरहेको बताउनुभएकाे छ ।
यो अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र भएको उहाँको टिप्पणी थियाे। उहाँले गणतन्त्र, संघीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै सबै भन्दा ‘नयाँ’ विचार बोकेको शक्ति भएको दावी गर्नुभएकाे छ । संयाेजक दाहालले ‘जेन–जी’ आन्दोलन र त्यसबाट उत्पन्न विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा एक बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औँल्याउनुभयो ।
संयाेजक दाहालले पार्टीको नयाँ चुनाव चिह्न ‘तारा’ बारे मतदातालाई स्पष्ट पार्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । सोसल मिडियालाई प्रचारको माध्यम बनाए पनि जनतासँगको प्रत्यक्ष भेटघाट र टोल–टोलको प्रचार नै बढी प्रभावकारी हुने उहाँको तर्क छ ।





प्रतिक्रिया दिनुहोस्