काठमाडाैं । झापामा सवारी दुर्घटनाकाे संख्या दैनिक रुपमा बढिरहेकाे तथ्यांकले देखाएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयकाे तथ्यांक अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका हुन् । यहि माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेको थियो ।
यसैबीच, तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बाँस्कोटाको उपचारका क्रममा आइतबार नै मृत्यु भएको छ । बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत बाँस्कोटाको आइतबार मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएकाे हाे ।
माघ २१ गते अर्जुनधारा–३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र१–०१–०१८ प १६७ नं को स्कुटीले बाटो काट्दै गरेका पैदलयात्री बाँस्कोटालाई ठक्कर दिएको थियो । स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरीकाे नियन्त्रणमा रहेका छन्
यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको थियो । माघ १ गते एकैदिन तीन जनाको ज्यान गएको थियो । त्यसयता जिल्लामा प्रायः दैनिक रुपमा सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको प्रहरीले बताएकाे छ ।








प्रतिक्रिया दिनुहोस्