काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैत्रको पहिलो हप्ताभित्र संघीय संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
सिंहदरवारस्थित कार्यकक्षमा शुक्रबार शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर उहाँले सोही निर्देशन दिनुभएको हो । नयाँ संसद भवनबाटै प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्नेगरी कुनैपनि अवरोध नहुने गरी काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई अध्यक्ष दाहालले निर्देशन दिनुभएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो । त्यसक्रममा शहरी विकास मन्त्रालयका सचिव सिग्देलले अध्यक्ष दाहाललाई संसद भवनको निर्माण कार्य करिब ९२ प्रतिशत सकिएको र बाँकि काम पूरा गरी आगाममी चैत्रको पहिलो हप्ता निर्माण कार्य सम्पन्न गर्न सकिने व्रिफिङ गर्नुभएको थियो ।
यता, अध्यक्ष दाहालले भने सोही समयमा सक्नेगरी कार्य सम्पन्न गर्नका लागि नियमित अनुगमन गर्न संसद सचिवालयलाई सचेत समेत गराउनुभएकाे छ । उहाँले सो कार्यको प्रगति विवरण हप्ता हप्ता दिनमा संघीय संसद सचिवालयका गराउन पनि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताउनुभयो ।
आगामी फागुन २१ गतेको निर्वाचनपछि नयाँ संसद भवन सिंहदरवारबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक शुरु गर्ने संसद सचिवालयको तयारी छ । सोही अनुसार प्रतिनिधि सभाको बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको निर्माणमा बढी जोड दिएर अघि बढनेगरी काम गर्न अध्यक्ष दाहालले सहरी विकास मन्त्रालय र निर्माण कार्यमा संलग्न पक्षहरुलाई सचेत गराउनुभएको हो ।
संघीय संसद सचिवालयले चैत्रको पहिलो हप्ता संसद भवनको निर्माण कार्य सम्पन्न हुने र सोही ठाउँबाट बैठक शुरु हुनेमा विश्वास गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्