काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले चुनावी दौडलाई शान्त र शालीन रुपमा सम्पन्न गरेका छन् ।
यो दौडका क्रममा उनले देशका विभिन्न जिल्लामा पार्टीका उम्मेदवार, नेता, कार्यकर्ता र समर्थकसँग भेटघाट गरेका थिए । भेटघाटका क्रममा कुनै सभा, जुलुस देखिएनन् । चुनावी दौडका क्रममा उनी जहाँ पुग्थे, त्यहाँ समर्थकको भीड लागेको हुन्थ्यो ।
काठमाडौं महानगरपालिकाको पदबाट राजीनामा दिएपछि बालेन शाह पहिलो पटक राजनीतिक कार्यक्रममा देखिएका थिए । उनी पहिलो पटक माघ ५ गते रास्वपाले आयोजना गरेको परिवर्तन सभामा जनकपुरमा देखिएका थिए । सो सभाबाट उनले राजनीतिमा आएको मात्र दाबी गरेनन्, परिवर्तनका लागि मत दिन मतदातालाई आग्रहसमेत गरेका थिए ।
त्यसपछि उनले चुनावी दौडलाई तीव्रता दिएका थिए । भोलिपल्ट उनी मनोनयन दर्ताका लागि झापा–५ मा पुगेका थिए । उनी त्यहाँ पुग्दा नेता, कार्यकर्ता मात्र होइन, समर्थकको पनि उल्लेख्य भीड देखिएको थियो । उम्मेदवारी दर्तापछि उनले त्यहाँका मतदाताहरुसँग छलफलसमेत गरेका थिए ।
त्यसलगत्तै उनी कोशी प्रदेशका विभिन्न जिल्ला दौडमा निस्किएका थिए । ताप्लेजुङ, पाँचथर, इलाम लगायतका जिल्लाहरुमा उनले मतदाता र समर्थकसँग भेटघाट गरे । त्यसपछि उनी सुदूरपश्चिम प्रदेशतिर लागेका थिए । रोचक कुरा त के भने उनी जुन प्रदेशमा पुगे ती प्रदेशका स्थानीय भाषा प्रवर्द्धनमा उनले भूमिका खेले । चाहे सुदूरपश्चिम प्रदेश होस् या कर्णाली प्रदेश ती प्रदेशमा पाइला टेक्नेबित्तिकै उनले सोही प्रदेशमा बोलिने भाषालाई सामाजिक सञ्जालमा अभिव्यक्त गरेका थिए । झापा–५ मा रास्वपाबाट उम्मेदवार बनेका उनी देशैभरका विभिन्न जिल्लामा किन घुमे रु यो विषय यतिबेला बहस बनेको छ । उनी यतिबेला झापा–५ मा बढी केन्द्रित भएको हुनुपर्थ्यो ।
तर, अन्य जिल्लामा पुगेर उनले पार्टीका उम्मेदवार र समर्थकहरुलाई भेटे । उनले देशभर यस्तो अभियान थालेपछि पुराना राजनीतिक दलका नेताहरु चिढिन थालेका छन् । बालेनको विषयमा सबैभन्दा बढी चिढिएको कोही छ भने ती केपी ओली हुन् । उनले विभिन्न कार्यक्रममार्फत बालेन र रास्वपाप्रति कडा प्रहार गर्दै आइरहेका छन् । ओली मात्र होइन, पछिल्लो समय नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसमेत नयाँ दल र तिनका नेताप्रति खनिन थालेका छन् ।
यसरी हेर्दा, नयाँ दल र तिनका नेताहरुको शैली पुराना दलहरुलाई फिटिक्कै मन परेको छैन । उनीहरुले सामाजिक सञ्जालमार्फत जसरी गतिविधि अघि बढाइरहेका छन्, ती गतिविधिले पुराना दललाई समस्यामा पारेको छ । यस्ता गतिविधिले मुलुकलाई नै समस्यातर्फ धकेल्ने चिन्ता पुराना दलका नेताहरुमा छ ।





प्रतिक्रिया दिनुहोस्