अर्घाखाँची । संसदीय राजनीतिमा दुई दशकदेखि निर्वाचित हुँदै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको अनुपस्थितिमा हुन लागेको यस पटकको प्रतिनिधिसभा निर्वाचन अर्घाखाँची चर्चाको केन्द्रमा छ ।कहिले नेकपा माओवादी केन्द्र र कहिले नेपाली कम्युनिष्ट पार्टी नेकपा एमालेबाट निरन्तर चुनाव जित्दै आएका रायमाझी बिना अहिले निर्वाचनमा सहभागी दलहरु डेब्यू गर्ने याेजनामा रहेका हुन्।
अर्घाखाँचीबाट निरन्तर जित्दै आएका रायमाझी यस पटक चुनावी मैदानमा छैनन् । भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कारण निरन्तर चार वटा निर्वाचन जितेका रायमाझी चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । माओवादी हुँदै एमालेबाट २०७९ सालको निर्वाचन जितेका रायमाझीको अनुपस्थितिमा एमालेले पीताम्बर भुसाललाई निर्वाचनका लागि अगाडि सारेको छ । एमालेसँगै नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र g]kfnL sDo’lgi6 kf6L{नेकपाका उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
२०४८ /२०५१ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले जितेको यो क्षेत्रमा २०५६ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट डिलाराम आचार्यले एमालेको साथ लिएर कांग्रेसको विजयी यात्रा रोकेका थिए । २०५६ पछि यो क्षेत्रमा कांग्रेसले जित निकाल्न सकेको छैन । एमालेले सिन रायमाझीको आगमनसँगै यो क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको थियो । जसलाई निरन्तरता दिन एमालेबाट दोस्रो पटक जिल्ला अध्यक्ष बनेका भुसाललाई चुनौती छ ।
त्यस्तै ,कांग्रेसको तीन दशक अघिको विरासत फर्काउन पूर्व जिल्ला सभापति तथा प्रदेश सहमहामन्त्री विष्णु खनाल मुस्कान चुनावी मैदानमा उत्रिनुभएकाे हाे । देशैभरी लहर छाएको रास्वपाबाट गत निर्वाचनकै उम्मेदवार रहेका हरिप्रसाद भुसाल निर्वाचनको मैदानमा उत्रिएका छन्। त्यस्तै, नेकपाबाट रामबहादुर चौहान उम्मेदवार बन्नुभएकाे छ । चारै दलका उम्मेदवार जिल्लामा राम्रो प्रभाव भएका नेता हुन् । राष्ट्रिय जनमोर्चा, राप्रपा तथा विप्लव नेतृत्वको नेकपा माओवादीको मत यो क्षेत्रमा चुनावी अंकगणितको फेरबदल गर्न सक्ने आधार हुन् ।
निर्वाचनलाई अनुकूल बनाउन अहिले यो क्षेत्रमा उम्मेदवारहरू घरदैलो तथा निर्वाचन केन्द्रित अभियानमा लागेका छन् । जनता भेटेर आफू र आफ्नो पार्टीको उम्मेदवारलाई विजयी गराउन उनीहरू गाउँकेन्द्रित अभियानमा रहेका हुन् । दुई दशक अघिदेखि नै सरकारी जागिर छाडेर राजनीतिमा लाग्नुभएका कांग्रेसका उम्मेदवार खनाल पार्टीलाई एक ढिक्का बनाएर प्रतिष्पर्धामा भएकाले आफूलाई मतदाताले रोज्ने जिकिर गर्नुभयाे । अघिल्लो निर्वाचनमा आफ्नो पार्टीको प्रभावशाली जित निकालेको भन्दै एमालेको तर्फबाट उम्मेदवार बनेका भुसाल जित निश्चित भएको दावी गर्नुभएकाे छ ।
यता, दोस्रो पटक चुनावी मैदानमा रहेका रास्वपाका जिल्ला सभापति हरिप्रसाद भुसाल यसपटक आफूले जित्ने दावी गर्नुभएकाे हाे। नागरिकले बैकल्पिक राजनीतिलाई स्वीकार गरेकोले आफ्नो जित निश्चत रहेको उहाँको दावी छ । त्यस्तै, नेकपाको तर्फबाट उम्मेदवार बनेका रामबहादुर चौहान पनि मतदाताको रोजाईमा आफू पर्ने जिकिर गर्नुभयाे ।
कूल १ लाख ७१ हजार ६सय ६५ मतदाता रहेको अर्घाखाँचीमा फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरि १५ जनाले उम्मेदवारी दिएका छन् ।
विस्तृतमा भिडियाे रिपाेर्ट हेर्नुहाेस् :





प्रतिक्रिया दिनुहोस्