पाल्पा, असोज ९ । पाल्पाको रैनादेवी गाउँपालिकास्थित मुझुङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ ।
दुई वर्षदेखि निर्माणाधीन भवन अलपत्र भएपछि उपचारका लागि आउने बिरामी समस्यामा परेका छन् । बिरामीलाई पानी चुहिने भवनबाट सेवा दिने गरिएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट प्राप्त रकमको बजेट रोकिएपछि निर्माणका क्रममा रहेको भवन अलपत्र परेको हो । बर्थिङ सेन्टरसहितको सुविधासम्पन्न भवन निर्माणका लागि मन्त्रालयबाट १ करोड २५ लाख रुपैयाँ प्राप्त भए पनि हालसम्म ६० लाख रुपैयाँमात्र खर्च भएको र बाँकी रकम निकासा नभएको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारको ध्यान नजानु र यसबारे स्थानीय सरकारलाई जानकारी नगराउनु दुःखद भएको बताए । स्वास्थ्य संस्थाको भवन निर्माणका लागि स्थानीय विष्णु कुमारी कार्कीले पाँच लाख मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएकी थिइन् ।
सुविधासम्पन्न भवन निर्माणको काम अलपत्र पर्दा बिरामीलाई पानी चुहिने भवनमा राखेर उपचार गराउनु परेको स्वास्थ्य चौकीका प्रमुख श्याम कार्कीले बताए ।








प्रतिक्रिया दिनुहोस्