Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरूद्ध आज उजुरी दिन सकिने


208
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिन सकिने व्यवस्था रहेको बताएको छ ।

आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने जनाएको हो । उक्त उजुरीपछि यहि माघ ८ गते साँझ ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको जनाएको हो । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गर्नुभयो। निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा व्यक्त गरेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले २ हजार ९ सय २५ उम्मेदवारी परेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमा महिला उम्मेदवार ३ सय ३६ र पुरुष २ हजार ५ सय ८९ जना रहेका छन् । त्यस्तै, अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका १ सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको हो ।