Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने महामन्त्री शर्माकाे दावी

यदि विभाजन हुने अवस्था आएकाे खण्डमा सबै भन्दा पहिला आफू हलबाट बाहिरिने जिकिर

741
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने दावी गर्नुभएकाे छ।

महामन्त्री शर्माले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत एक भिडियाे सन्देश जारी गर्दै यस्ताे दावी गर्नुभएकाे हाे।काठमाडौंमा यहि पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आएमा सबै भन्दा पहिलो आफू हलबाट बाहिरिने उहाँले उल्लेख गर्नुभएकाे छ। विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएको समयमा महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत सोही धारणा सार्वजनिक गर्नुभएकाे हाे ।

विशेष महाधिवेशनकाे बारेमा उठिरहेका प्रश्नहरूको जवाफ दिँदै उहाँले पार्टी विभाजनको आशंका अस्वीकार गर्नुभएकाे छ। यहि पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने विषयमा पत्रकार सम्मेलनमार्फत आह्वान भइसकेको छ । त्यसमा महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापाले सहभागी हुने घोषणा गरिसकेका छन् ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा देखिएको छ । तर महामन्त्रीद्वय थापा र शर्मा पक्षका नेताहरूले भने जेनजी आन्दोलनपछिको परिस्थितिमा विशेष महाधिवेशन अनिवार्य भएको दावी गर्दै आएका छन् ।