Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


वीरगञ्जमा लागेको कर्फ्यू हट्यो


169
Shares

वीरगञ्ज ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाएको छ। जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था सुदृढ भएको तथा अवस्था सामान्य बन्दै गएको निष्कर्षसहित कर्फ्यु हटाइएको हो।

जिल्ला सुरक्षा समितिको पुस २१ र २२ गते बसेको बैठकको निर्णयअनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरिएको थियो। तर सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट प्राप्त सहमति र हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था सहज बन्दै गएको ठहर गर्दै कर्फ्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सूचनाअनुसार पुस २२ गते अपराह्न ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाइएको हो। कर्फ्यु हटेसँगै नागरिकको आवागमन, व्यापार–व्यवसाय तथा अन्य दैनिक गतिविधि पुनः सामान्य रूपमा सञ्चालन गर्न सकिने प्रशासनले स्पष्ट पारेको छ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाइए पनि सबै पक्षलाई संयम, अनुशासन र जिम्मेवारीपूर्ण व्यवहार अपनाउन आग्रह गरेको छ। शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न नागरिक, राजनीतिक दल, सामाजिक तथा धार्मिक संघसंस्थाको सहकार्य आवश्यक रहेको प्रशासनको भनाइ छ।

कर्फ्यु आदेश हटाइएको सम्बन्धमा सम्बन्धित सबै निकाय तथा सरोकारवालालाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचनामार्फत जनाएका छन्।