Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


विकास सुस्त र सुशासन कमजोरीका कारण नवयुवा पुस्तामा गहिरो असन्तुष्टिः अर्थमन्त्री खनाल


143
Shares

काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीका कारण आम नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताउनुभएको छ ।

विकास मिडियाले ललितपुरमा आइतबार आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताउनुभएको हो । उहाँले नवयुवामा देखिएको असन्तुष्टि समय समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख गर्दै हालको राजनीतिक परिस्थिति समेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम भएको बताउनुभयो । उहाँले आगामी २१ फागुनमा हुने निर्वाचनमा आम नागरिकले विकासको गति तीब्र बनाउने, सुशासनको अनुभूति दिलाउने तथा स्रोत र सम्पतीमाथिको अतिक्रमण घटाउँदै भ्रष्टाचार नियन्त्रण गर्नसक्ने राजनीतिक शक्तिलाई सत्तामा ल्याउने विश्वास समेत व्यक्त गर्नुभएकाे छ।

देशमा विकाससम्बन्धी नीति र योजना अभाव नभएको बताउदै उहाँले पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका व्यवसायिक योजना तथा निजी क्षेत्रका योजनामा विकासको स्पष्ट खाका भएपनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री खनालले मुलुकको विकास र समृद्धिका लागि बहस नभई व्यवहारमै देखाउनुपर्ने धारणा राख्नुभएकाे छ।

अर्थमन्त्री खनालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत मुलुकका समस्याहरुको हल गर्ने रणनीतिक योजना भएको राजनीतिक शक्तिलाई जिताउन समेत आम नागरिकलाई आग्रह गर्नुभयो ।