Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


वर्षौंदेखि ओझेलमा परेका ४ युवाले पाए नागरिकता (भिडियाे रिपाेर्ट)

नागरिकता हातमा परेपछि युवाको आँखाबाट खुशीको आँसु थामिएन !

0
Shares

इलाम। लामो समयदेखिको प्रतिक्षापछि इलाम-९ गोलाखर्कस्थित राहसल बाल अनाथालयका चार जना युवाहरूले नेपाली नागरिकता पाएका छन् ।

२०६६ सालमा स्थापना भएको यस अनाथालयको इतिहासमा बालबालिकाले नागरिकता पाएको यो पहिलो अवसर हो। एक विशेष अवसरकाबीच जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले इलाम-९ गोलाखर्कस्थित राहसल बाल अनाथालयका चार युवाहरूलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। प्रजिअ नेपालको सरुवा भएर जानेक्रममा जिल्ला प्रशासन कार्यालय परिसरमा सामूहिक रुपमा उनीहरुलाई नागरिकता प्रदान गरेर जानुभएको हो । नागरिकता हातमा परेपछि वर्षौंदेखि ओझेलमा परेका युवाहरूको आँखाबाट खुशीको आँसु थामिएन ।

नागरिकता पाउने उमेर पुगेपनि नागरिकता परिचयपत्रको अभावमा उच्च शिक्षा र रोजगारीका अवसरबाट वञ्चित भएका ती चार युवाका लागि यो क्षण पुनर्जन्म सरह नै बन्यो । नागरिकता वितरण गर्दै प्रजिअ नेपालले भन्नुभयो:- ‘नागरिक बन्ने हक संविधान र ऐनमै सुनिश्चित छ । राज्यको मूल प्रवाहबाट कोही पनि वञ्चित हुनु हुँदैन । आज यी युवाहरूले नागरिकता पाएसँगै उनीहरूको भविष्यको ढोका खुलेको छ । अब उनीहरूले ढुक्क भएर आफ्नो वृत्ति-विकासमा लाग्न पाउनेछन्’।

यता अनाथालयकी अध्यक्ष माया भट्टराईका लागि यो दिन कुनै उत्सव भन्दा कम थिएन । बालबालिकालाई सन्तान झैं हुर्काउदै आएकी भट्टराईले नागरिकता दिलाउनका लागि लामो कानूनी र प्रशासनिक संघर्ष गर्नुभएको थियो। उहाँले भन्नुभयाे-‘ हामी सबै अत्यन्तै खुशी छौं। यी बालबालिकाले नागरिकता नपाउँदा उनीहरूको बैंक खाता खोल्न, उच्च शिक्षा पढ्न र सिमकार्ड लिन समेत समस्या थियो । आज वर्षौंदेखिको प्रतीक्षा सकिएको छ ।’

नागरिकता पाएका युवाहरूले आफूहरूले बल्ल ’नेपाली’ भएको वास्तविक महशुस गरेको बताएका छन् । शिक्षा र रोजगारी अब यी युवाहरूले सरकारी जागिर, विदेश भ्रमण वा निजी क्षेत्रमा निर्धक्क भएर काम गर्न सक्नेछन् । राहसल बाल अनाथालयले विगत १५ वर्षदेखि असहाय र अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ । हाल यहाँ धेरै बालबालिकाहरू आश्रित छन्। जसले भविष्यमा क्रमशः उमेर पुगेपछि कानूनी प्रक्रिया पूरा गरी नागरिकता पाउने अपेक्षा गरिएको छ ।

भिडियाे रिपाेर्ट: