काठमाडाैं। नेपाली कांग्रेसका नेताहरुले सरकार निर्वाचनका लागि तयार नरहेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनीहरुले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरेका हुन् । कांग्रेसले सरकारले वातावरण बनाए निर्वाचनमा जाने निर्णय गरिसके पनि अहिलेसम्ममको स्थितिमा निर्वाचनको वातावरण बन्न नसकेको उनीहरुकाे दावी छ।
कांग्रेस उपसभापति धनराज गुरुङले सरकारले निर्वाचनमय वातावरण बनाउन अझै नसकेकाले सांसदहरुले अर्को बाटो अपनाएर अदालतमा रिट दर्ता गरेको बताउनुभयो । उहाँले कांग्रेस निर्वाचनको पक्षमा रहेपनि त्यो वातावरण बनाउन सरकारले नसकेको उल्लेख गर्नुभएकाे छ। उहाँले पार्टीको महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने पनि बताउनुभयो ।
त्यस्तै, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशन अलमलमा नरहेको र विगतको भन्दा भव्यताका साथ सम्पन्न हुने दावी गर्नुभएकाे छ । उहाँले नियमित महाधिवेशन छिटै हुने पनि बताउनुभयो ।
त्यस्तै, पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले ११ जिल्लाको क्रियाशिल सदस्यता टुंग्याउन बाँकी रहेको र छिटै टुंगिने बताउनुभएकाे छ । उहाँले पदाधिकारीहरुको पदावधिको समयसम्म महाधिवेशन हुने दाावी गर्नुभयो । उहाँले निर्वाचनमा सहभागी हुन कांग्रेस तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएकाे छ। देश शून्यतामा नजाओस् भनेर संसद पुन:स्थापनाकाे रिट लिएरसहित सर्वोच्च अदालतमा पुगेको बताउनुभयो।
त्यसैगरी नेता अर्जुननरसिंह केसीले कांग्रेस अन्योलमा नरहेको र संस्थागत निर्णय गरेर निर्वाचनमा जाने भनिसकेको बताउनुभएकाे छ। उहाँले पार्टीको महाधिवेशन पनि तोकिएको समयभित्रै हुनुपर्ने बताउनुभयो । उहाँले यथास्थितिमा निर्वाचनमा जानु भनेको आत्महत्या गरे बराबर भएको जिकिर गर्नुभएकाे छ।
नेता केसीले अधिवेशन तोकिएको समयमा हुनैपर्ने बताउनुभयो। उहाँले विकसित घटनाक्रमलाई हेरेर कांग्रेस अघि बढ्नुपर्ने बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्