Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


जापानसँग ३२ अर्ब लिन समझदारी


0
Shares

काठमाडौं ।
नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थतिमा अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हिजो उक्त हस्ताक्षर गरिएको हो । जापानले उक्त आयोजनाका लागि करिव ३१ अर्ब ७६ करोड बराबरको ऋण सहायता उपलब्ध गराउने भएको हो ।

जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलब २ प्रतिशत ब्याजदर रहनेछ ।

यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि.पि.राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ । ऋण सहायतासँग सम्बन्धित एक्सचेञ्ज अफ नोटिसमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदुत मायदा तोरुले हस्ताक्षर गर्नुभयो ।

त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गर्नुभयो ।