Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


अमेरिकामा बसाेबास गर्दै आएका १९ देशका नागरिकमाथि फेरि छानबिन गरिंदै

अफगान नागरिकका सबै आप्रवासन मागपत्रको प्रक्रिया स्थगित

2.7k
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न १९ देशबाट अमेरिकामा गएर स्थायी रुपमा बसोबास अनुमति प्राप्त व्यक्तिहरूमाथि फेरि छानबिन गर्ने निर्णय गरेको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस) का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पले हरेक आप्रवासीको आवास अनुमति कडाइका साथ फेरि परीक्षण गर्न निर्देशन दिएको बताउनुभएको हो। यसरी छानविन हुने देशको सूचीमा अफगानिस्तान, क्यूबा, हाइटी, इरान, सोमालिया र भेनेजुएला लगायतका देश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

गत बुधबार दुई जना राष्ट्रिय सुरक्षाबल (नेशनल गार्ड) का सदस्यमाथि भएको गोलीकाण्डपछि यो घोषणा गरिएको बताइएको छ। घटनामा आरोपित रहमानुल्लाह लाकानवाल सन् २०२१ मा अमेरिकाले अफगान नागरिकका लागि बनाएको विशेष आप्रवासन कार्यक्रम अन्तर्गत गएका थिए ।

राष्ट्रपति ट्रम्पले यस घटनाले ‘राष्ट्रको ठूलो सुरक्षा जोखिम’ प्रस्ट भएको टिप्पणी गर्नुभएको हाे। गोलीकाण्डपछि राष्ट्रपति ट्रम्पले कडा प्रतिक्रिया दिँदै अघिल्लो प्रशासनले अज्ञात र जाँच-पास नगरी २ करोड भन्दा बढी मानिसलाई देशभित्र ल्याएको बताउनुभएको छ।

यसैबीच, अस्तिदेखि नै अफगान नागरिकका सबै आप्रवासन मागपत्रहरूको प्रक्रिया स्थगित गरिएको छ।