Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


संसद पुनर्स्थापना गरेर लोकतन्त्र फर्काएरै छाेड्ने अध्यक्ष ओलीकाे दावी

सरकारले जेनजी युवाका नाममा उपद्रव मच्चाउने काम गरेकाे तर्क

143
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संवैधानिक र लोकतान्त्रिक विधि अनुसार गठन नभएकाले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै लोकतन्त्र फर्काएरै छाड्ने दावी गर्नुभएकाे छ।

काठमाडाैंमा शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्डकाे घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गर्नुभएकाे हाे। वर्तमान सरकारले निषेधित र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै उहाँले जेनजी युवाका नाममा उपद्रव मच्चाउने काम भइरहेको बताउनुभयाे।

उहाँले भन्नुभयाे,-‘अस्ति हामीमाथि ढुङ्गा हान्न आए, एमालेमाथि ढुङ्गा हान्न आए हिजो प्रहरीमाथि ढुङ्गा हान्न गए । नेपाली जनतालाई धम्क्याएर तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेर प्रधानमन्त्रीले के भनेको हो ?’ अनुमान हो कि योजना हो भन्दै उहाँले नेपाली जनतालाई डर देखाउने काम नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिनुभयाे।

सरकार संविधान अनुसार नबनेको भन्दै असंवैधानिक बाटोबाट बनेको सरकारले जेनजीका माग पूरा गर्न नसक्ने उहाँकाे दावी छ। उहाँले लोकतन्त्र फर्काउनुपर्छ भन्न नपाइने भन्दै प्रधानमन्त्री कार्कीलाई प्रश्न समेत गर्नुभएकाे छ। मोहन शमशेरले पनि प्रजातन्त्रका लागि सम्झौता गर्नुभएको उहाँकाे भनाइ थियाे।

अध्यक्ष ओलीले प्रधानमन्त्री कार्की त सम्झौता पनि नगरेकाे समेत बताउनुभयाे। तर लोकतन्त्र फर्काइने बताउदै उहाँले संविधान मास्न भने नदिने बताउनुभएकाे छ। देशलाई माया गर्न समेत सिक्न प्रधानमन्त्री कार्कीलाई उहाँले आग्रह गर्नुभयाे। गम्भीर समस्यामा फसेको भन्दै शान्तिको ठाउँमा अराजकताले राज गरेको उहाँकाे दावी छ।