Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


‘निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई सुरक्षाकै चिन्ता’


169
Shares

काठमाडाैं । राजनीतिक दलहरुले सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

निर्वाचन आयोगले बिहीबार निर्वाचन कार्यतालिकाका सन्दर्भमा राजनीतिक दलहरुसँग आयोजना गरेको छलफलमा दलहरुले सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाएका हुन् । जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले निष्पक्ष निर्वाचन हुनेमा विश्वास दिलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरुलाई विश्वासमा लिएर निर्वाचन गर्न आफूले आयोगलाई सुझाव दिएको बताउनुभएकाे छ। निर्वाचन आफैंमा जटिल विषयवस्तु भएको उल्लेख गर्दै उहाँले हाल देश नै जटिल अवस्थाको बेलामा हुन लागेकोको निर्वाचनलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टी-विघटित प्रतिनिधि सभाका पूर्व-सांसद प्रेम सुवालले सबै राजनीतिक दलसँगको सहमति र सुझावको आधारमा निर्वाचनको कार्यतालिका ल्याउनुपर्ने बताउनुभएकाे छ। निर्वाचनको लागि सरकारले र आयोगले सुरक्षाको प्रत्याभुति दिनुपर्नेमा उहाँकाे जाेड थियाे। आयोगले राष्ट्रिय सुरक्षा परिषदसँग छलफल गरेर देशभरीको सुरक्षा व्यवस्थाको जानकारी लिनुपर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचन अपरिहार्य भएको बताउनुभयो । आयोगले सबै राजनितिक दलसँग छलफल गर्नुपर्नेमा उहाँले जाेड दिनुभएकाे छ ।

विदेशमा रहेका र नेपालभित्रै पनि एक क्षेत्रबाट अर्को क्षेत्रमा मतदान गर्ने पाउने कुरा उठेको उल्लेख गर्दै उहाँले त्यस्तो गर्न नहुने बताउनुभयो । सम्बन्धित निर्वाचन क्षेत्रबाट मात्रै मतदान गर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । पूर्व-सांसद सुवालले निर्वाचनमा दलहरुबीच गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले राजनीतिक दलसँग प्रतिनिधि सभाको अन्तर्गतको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिका निर्वाचण प्रणालीको निर्वाचन कार्यतालिकाकाे बारेमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले दलहरुसँगको छलफलबाट अन्तिम रुप दिईसकेपछि राजपत्रमा प्रकाशित गर्ने बताउनुभयो ।

प्रवक्ता भट्टराईले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र मतदाता नामावली लगायतका बारेमा छलफल गरिएको पनि उल्लेख गर्नुभएकाे छ।