केशव कोइराला
बर्दिया । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को प्रदेश स्तरीय मूल्याङ्कनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थान हासिल गर्न सफल भएको छ ।
स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा बर्दिया अस्पतालले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशका सबै जिल्ला अस्पतालहरूलाई पछाडि पारेको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु र प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले संयुक्त रूपमा अस्पतालका प्रमुख डा। सुवास पाण्डेलाई प्रथम स्थानको प्रमाणपत्र प्रदान गर्नुभयो ।
डा। पाण्डेले बर्दिया अस्पतालको निरन्तर उत्कृष्टताका पछाडि टिमवर्क, पारदर्शिता र सेवाप्रति प्रतिबद्धता मुख्य कारण रहेको बताउनुभयो । उहाँले अनेक समस्याका बाबजुद पनि अस्पतालले पुनः पहिलो स्थान हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिनुभयो ।
गत आर्थिक वर्ष २०८०/०८१ मा समेत बर्दिया अस्पतालले प्रदेशभरका १३ वटा जिल्ला अस्पतालहरूमध्ये पहिलो स्थान प्राप्त गरेको थियो । यस वर्ष बर्दिया अस्पतालले ७०/२४ प्रतिशत अङ्कका साथ पहिलो स्थान हासिल गर्दा, अर्घाखाँची अस्पतालले ६९/७४ प्रतिशत अङ्कका साथ दोस्रो र लुम्बिनी प्रादेशिक अस्पतालले ६८।७४ प्रतिशत अङ्कका साथ तेस्रो स्थान प्राप्त गरेका छन् ।
मूल्याङ्कन १२ वटा प्रमुख सूचकका आधारमा गरिएको थियो । ती सूचकहरूमा अस्पताल सेवाको गुणस्तर, पारदर्शिता, वित्तीय प्रगति, प्रतिवेदन प्रणालीको कार्यक्षमता, कार्यक्रम कार्यान्वयनको प्रभावकारिता लगायतका पक्षहरू समावेश थिए ।
जिल्ला अस्पताल बर्दियाको यो निरन्तर सफलता प्रदेशस्तरमै मात्र होइन, देशभरका सार्वजनिक अस्पतालहरूका लागि पनि उदाहरणीय उपलब्धि मानिएको छ ।




प्रतिक्रिया दिनुहोस्