काठमाडाैं । गत भदौमा भएको जेनजी युवाकाे आन्दोलनपछि सुस्ताउने चिन्ता पर्यटन ब्यवसायमा गरिएको जस्तो असर नपरेको देखिएको छ। जेनजी आन्दोलन लगत्तैको गत अक्टोबर महिनामा नेपाल आएका पर्यटकको संख्याले आन्दोलनबाट पर्यटन ब्यवसायमा दीर्घकालीन असर नपुगेको प्रष्ट पारेको हाे ।
सेप्टेम्बर ८ र ९ तारिखमा भएको जेनजी आन्दोलनका क्रममा पर्यटन क्षेत्र सम्वद्ध विभिन्न संरचनाहरुमा समेत भएको ध्वंसात्मक घटनाहरुले पर्यटन सिजन प्रभावित हुने चिन्ता गरिएको थियो । तर जुन रुपमा चिन्ता गरिएको थियो त्यस्तो भने नभएको तस्बिर अगाडि आएको छ। जेनजी आन्दोलन लगत्तै पनि नेपाल आएका पर्यटकको संख्याले पर्यटन क्षेत्रमा उत्साह थपेको छ । गत अक्टोबर महिनामा मात्रै नेपालमा नेपालमा १ लाख २८ हजार विदेशी पर्यटक नेपाल घुम्न आएको तथ्यांक सार्वजनिक भएको छ ।
जुन गत वर्षको तुलनामा ३ दशमलव ३ प्रतिशतले बढी हो । गत वर्षको अक्टोबर महिनामा १ लाख २४ हजार ३ सय ९१ जना पर्यटक नेपाल आएका थिए । नेपालको प्रमुख पर्यटकीय सिजन शुरु हुने सेप्टेम्बर महिनामै विश्वलाई चकित पार्ने जेनजी आन्दोलन हुँदा पर्यटकीय गतिविधि ठप्प हुने आशंका गरिए पनि अक्टोबरको तथ्यांकले त्यसलाई खण्डन गरेको नेपाल पर्यटन बोर्डले पनि स्वीकारेको छ ।
नेपाल घुम्न आउने पर्यटक मध्ये सबै भन्दा बढी भारतीय रहेका छन् । अक्टोबरमा भारतीय पर्यटक १७ हजार २ सय ९८ जना आएका थिए। त्यस्तै, अमेरिकाबाट १३ हजार २ सय ८६, बेलायतबाट ८ हजार ७ सय १८, चिनबाट ६ हजार ७ सय ५५, र जर्मनीबाट ६ हजार ३ सय ६६ पर्यटक भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार अक्टोबरमा आएका पर्यटकमध्ये युरोपेली मुलुकका ४० हजार ६ सय, सार्क मुलुकका २९ हजार ६० र अन्य एसियाली देशका २३ हजार १ सय २७ जना पर्यटक रहेका छन् । त्यस्तै, अमेरिकाबाट १६ हजार ४ सय ७, मध्यपूर्वबाट ३ हजार ५ सय ४८, र सबै भन्दा कम अफ्रिकी मुलुकबाट ४ सय ४३ पर्यटक नेपाल आएका छन् ।
सन् २०२५ को जनावरीदेखि अक्टोबरसम्म कूल ९ लाख ४३ हजार ७ सय १६ जना पर्यटक नेपाल भित्रिएका छन्। जुन गत वर्षको तुलनामा केही बढी हो । नेपाल आएका कुल पर्यटक संख्यामा पनि भारतीयहरुकै बढी छ । यो अवधिमा भारतबाट २ लाख ४३ हजार, अमेरिकाबाट ९३ हजार ९ सय ८५, चीनबाट ७८ हजार ९ सय २९ जना, बेलायतबाट ४७ हजार २ सय ६१, बंगलादेशबाट ४५ हजार २ सय ८७, अस्ट्रेलियाबाट ३८ हजार ९ सय ८४, श्रीलंकाबाट ३२ हजार १ सय ३७, जर्मनीबाट २४ हजार ८४१, थाइल्याण्डबाट २२ हजार २ सय ६१ र दक्षिण कोरियाबाट १९ हजार ३ सय २९ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।
यस वर्ष १० महिनामा कूल पर्यटक आगमनमध्ये दक्षिण एसियाली देशको हिस्सा ३५ दशमलव ८ प्रतिशत, र अन्य एसियाली देशको २० दशमलव ९ प्रतिशत, युरोपबाट १९ दशमलव १ प्रतिशत रहेको छ । अमेरिकाबाट १२ प्रतिशत, आसियन क्षेत्रबाट ४ दशमलव ४ प्रतिशत, अफ्रिकाबाट ० दशमलव ४ प्रतिशत र अन्य क्षेत्रबाट ५ दशमलव ५ प्रतिशत पर्यटक आएका छन् । सन् २०२५ मा अमेरिकी र युरोपेली पर्यटकको आगमन दर उल्लेख्य रुपमा वृद्धि भएको तथ्यांकले देखाएको छ। अक्टोबरमा नेपालीहरुको चाडपर्व र बिदासमेत धेरै भएकाले आन्तरिक पर्यटकहरुको चहलपहल पनि उत्तिकै बढेको थियो ।
नेपालले हालका वर्षहरुमा विविध गन्तव्य प्रचार र पर्वतारोहण सहजताका काम पनि गरेकाले विदेशी पर्यटकहरुको आकर्षण बढेको बोर्डको विश्लेषण रहेकाे छ।
भिडियाे रिपोर्ट:




                
प्रतिक्रिया दिनुहोस्