काठमाडौं ।
प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले हालै विभिन्न सञ्चार माध्यममा आएका “काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाइँदैछ” भन्ने समाचारहरू असत्य र भ्रमपूर्ण भएको स्पष्ट गरेको हो ।
विज्ञप्तिमा गृहमन्त्रीको नियुक्ति वा हटाउने अधिकार केवल प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्ने उल्लेख गरिएको छ। साथै, गृहमन्त्री अर्यालले आगामी निर्वाचनका तयारी, शान्ति–सुरक्षा कायम गर्न र सुरक्षा निकायको मनोबल उच्च राख्न सक्रिय रूपमा काम गरिरहेको बताउँदै यस्तो संवेदनशील समयमा अफवाह नफैलाउन सबैलाई आग्रह गरिएको छ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयको प्रेस विज्ञप्ति
विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ।
कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।
जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ।
यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।
मिति २०८२।०७।१३
आदर्शकुमार श्रेष्ठ
प्रमुख स्वकीय सचिव




प्रतिक्रिया दिनुहोस्