प्रज्ञा तिमल्सिना/देवेन्द्र महर्जन (इमेज)
काठमाडौं, असोज ५ । २५औं विश्व अल्जाइमर चेतना दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बिर्सने रोगकारुपमा चिनिएको अल्जाइमर रोग ६५ वर्ष उमेर कटेका वृद्धवृद्धामा बढी देखिएको छ ।
अल्जाइमर रोगका कारण नेपालमा ८० हजार व्यक्ति प्रभावित रहेको अनुमान गरिएको छ ।
६५ वर्ष कटेका वृद्धवृद्धाहरुमा विस्तारै सम्झनसक्ने क्षमता कम हुँदै जाने, आफ्नै परिवारका सदस्यलाई पनि नचिन्ने, तत्कालका घटनाहरु पनि बिर्सने तर ज्यादै पुराना कुराहरु भने सम्झने यो रोगका केही मुख्य लक्षणहरु हुन् ।
नेपालमा अल्जाइमर रोगीका विषयमा खासै अनुसन्धान नभएपनि ८० हजार व्यक्ति पीडित रहेको अनुमान गरिएको छ ।
६५ वर्ष उमेर पार गरेका व्यक्तिमा भिटामिन ‘बी’ १२ को कमी, थाइराइडको समस्या, डिप्रेसन र कुलतमा फसेका व्यक्तिमा ‘डिमेनिया’ भन्ने रोग लाग्छ । डिमेनिया नै अल्जाइमरको मुख्य कारण रहेको अल्जाइमर विशेषज्ञ डा. रमेश कँडेल बताउँछन् ।
अल्जाइमरका रोगीमध्ये ६५ वर्ष उमेर कटेका ९० प्रतिशत र ३० वर्ष उमेर कटेका १० प्रतिशत रहेका चिकित्सकहरु बताउँछन् ।
उच्च रक्तचाप, मधुमेह र धूमपान, मद्यपान गर्ने मानिसमा यो रोगको जोखिम झनै उच्च हुन्छ ।
रोग लागेको प्रथम चरणमै चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गरे बिरामीको अवस्था बिग्रनबाट केही रोकथाम गर्न सकिन्छ । तर, अल्जाइमर पूर्णरुपमा सन्चो भने हुँदैन ।
यो रोगका संसारभर दुईओटा औषधिमात्र उपलब्ध छ । कोलीन स्टेज इनिमिया र एनएमडी एन्टागेनेस ।
नेपालमा अल्जाइमर रोगबारे नेपाल सरकारले जनचेतनामूलक कार्यक्रम भने सन्चालन गरेको छैन । तर, सरकारले अल्जाइमर रोगको बिरामीका लागि औषधि–उपचारका लागि एक लाख रुपैयाँ बराबरको सुविधा भने दिँदै आएको छ ।
यस्ता बिरामीलाई परिवारको साथ र सहयोगको बढी आवश्यकता हुन्छ । अल्जाइमर भएका मानिसको भावना बुझेर उनीहरुलाई सहयोग गर्ने हो भने लामो समय बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।
पछिल्लो समय अल्जाइमर रोगीको संख्या बढेको पाइएकाले पनि यसको उपचार व्यवस्था तथा जनचेतनामा जोड दिनु जरुरी छ ।








प्रतिक्रिया दिनुहोस्