Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


अझै २ दिनसम्म उच्च सतर्कता अपनाउन आम-नागरिकलाई प्रधानमन्त्री कार्कीकाे आग्रह


247
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशैभरी जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमलाई गम्भीर रुपमा लिनुभएकाे छ।

प्रधानमन्त्री कार्कीले शनिबार साँझ विशेष सम्बोधन गर्दै अझै दुई दिनसम्म वर्षा निरन्तर जारी रहने सम्भावना रहेको र नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएकाे हाे । हाल देशका अधिकांश नदी-नालाहरुको बहाव उच्च सतर्कताको तहमा पुगेको छ । निरन्तर वर्षाका कारण खतराको तहमा पुग्ने सम्भावना बढेको हाे। उहाँले भन्नुभयाे,-‘ यो चुनौतीपूर्ण समयमा सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ पूर्ण तयारीमा छन् ।’

प्रधानमन्त्री कार्कीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सेवादायी निकायहरु चौबीसै घण्टा आपत्कालीन सेवामा परिचालनमा रहेको समेत बताउनुभयाे। उहाँले सरकार सबै उपलब्ध स्रोत र जनशक्ति परिचालन गरेर स्थानीय तह र नागरिकसँग सहकार्यमा जुटेको जानकारी गराउनुभयाे । महत्वपूर्ण राजमार्ग तथा पूर्वाधारको निगरानी भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्ग पुनः सञ्चालनमा ल्याइने बताउनुभएकाे छ।

प्रधानमन्त्री कार्कीले डुबान वा पहिरो जोखिम क्षेत्रका बासिन्दालाई ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउन आग्रह गर्नुभयाे। उहाँले प्रहरी र विपद व्यवस्थापन निकायद्वारा जारी आधिकारिक चेतावनी र सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गर्नुभएकाे छ।

विपद जोखिमको सम्भावना ध्यानमा राख्दै सरकारले यहि असोज १९ र २० गते देशैभरी सार्वजनिक बिदा दिने निर्णय गरेको समेत उहाँले जानकारी गराउनुभयाे ।