Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


अस्वस्थ माछा-मासु खाँदा लाग्छन् डेढ सय बढी रोग, मासु खाने तरिका यस्तो छ…


780
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा-मासुको प्रयोगले १ सय ६० भन्दा बढी रोगहरु लाग्ने खतरा रहेको बताउनुभएको छ ।

प्रवक्ता बुढाथोकीले चाडबाडको समयमा खानपानमा हुने असन्तुलन र जीवन पद्धतिमा हुने भद्रगोलका कारणले स्वास्थ्य सम्बन्धी समस्या बढी निम्तिने खतरा रहेको बताउनुभएको हो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्वास्थ्य समस्या भइरहेका मानिसहरुमा झनै जटिलता निम्तिनसक्ने भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभयो । स्वास्थ्य समस्या नभएकाहरुमा पनि स्वास्थ्य सम्बन्धी आकस्मिक समस्या हुनसक्ने भन्दै खानपानमा विशेष ध्यान दिन आग्रह गर्नुभएकाे छ।

प्रवक्ता बुढाथोकीले मासुका परिकारहरु बढी खाने, जंकफुडहरु खाने बानीले स्वास्थ्य समस्या झनै बढाउने बताउनुभयो । स्वस्थ माछा मासु प्रयोग गर्नसके मात्रै पोशक तत्व प्राप्त हुने उहाँको भनाइ छ । सेकुवा, तारेर र भुटेर खाइने माछा मासुले पाचन प्रणालीमा समस्या निम्त्याउने उहाँकाे भनाइ थियाे।

छोइला जस्ता काँचो मासुबाट पनि रोग निम्तिने खतरा रहेको प्रवक्ता बुढाथोकीले बताउनुभएकाे छ। मासु खाँदा प्रेसर कुकरमा ५-६ सिठी लगाएर झोलिलो खानु राम्रो हुने र मासुसँगै हरियो सागपात खानु उचित हुने उहाँले बताउनुभयो । उहाँले बिहानकाे पैदल यात्रालाई निरन्तरता दिन पनि आग्रह गर्नुभएकाे छ।

उहाँले भन्नुभयो,-‘ सेकुवा भनेर, तारेर, भुटेर माछा मासु धेरै खाँदा पाचन प्रणालीमा समस्या निम्त्याउँछ । त्यसले कब्जियत, झाडापखाला, खाद्य नलीको क्यान्सरको समस्या निम्तिन्छ । काँचो मासुबाट पनि रोग निम्तिन्छ । गोठदेखि ओठसम्म शुद्ध भएपछि मात्रै माछा मासु खानु उचित हुन्छ । मासु खाँदा प्रेसर कुकरमा ५-६ सिठी लगाएर झोलिलो खानु राम्रो हुन्छ । माछा मासु सेवन गर्दा जहिले पनि हरियो साग शब्जी पनि सँगसँगै खानुपर्छ । दालहरु, सलाद पनि खानुपर्छ । माछा, मासु मात्रैले पनि स्वास्थ्यमा नकारात्मक असर गर्दछ।’

प्रवक्ता बुढाथोकीले दीर्घरोगीहरुले पनि आफ्नो समय अनुसार दैनिक रुपमा औषधि सेवन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले चाड पर्वका समयमा पहिलै औषधिहरु किनेर राख्न पनि सुझाव दिनुभएकाे छ। भरसक सेतो मासु खान समेत उहाँले आग्रह गर्नुभयो । उहाँले कुखुरा, माछा वा अन्य पंक्षीहरुको मासु खान सुझाव दिनुभएकाे छ।

प्रवक्ता बुढाथोकीले खसी, राँगा, बोका र बाख्राको मासु रातो हुनेले स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताउनु भयो ।