Logo ११ आश्विन २०८२, शनिबार | Sat Sep 27 2025


आफ्नो हातमा केही नभएकाे थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिए: अध्यक्ष ओली

आफूमाथि लागेका आरोपप्रति जवाफदेही हुने ओलीकाे तर्क

3.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदाै २४ गते आफ्नो हातमा केही नभएकाे थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताउनुभएकाे छ।

भक्तपुरको गुण्डुमा शनिबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमकाे बारेमा व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा समेत प्रस्ट पार्नुभएकाे छ। उहाँले भन्नुभयाे,-‘शुरुमा गोली कसरी चलेको हो भनी मैले स्वयं सोधखोज गरेको छु, पछि थाहा पाएँ १४ जनाको मृत्यु भएको छ । टाउकोमा गोली लागेको भन्ने जानकारी पनि आएको छ । यो कसरी भयो चिन्ता व्यक्त गरेको छु । त्यसकाे बारेमा बुझ्न लगाएको छु । म यो घटनापछि अत्यन्त दुःखी छु र ‘यो कसरी भयो’ भनी छानबिन गर्न पनि भनेको थिए ।’

अध्यक्ष ओलीले घटनाको सत्य तथ्य पत्ता लगाउन छुट्टै आयोग निर्माण गर्न पनि आफूले भनेको बताउनुभयाे। उहाँले हालैको हिंसात्मक घटनाकाे बारेमा सत्य-तथ्य छानबिनको माग गर्नुभएकाे छ। अध्यक्ष ओलीले आफूमाथि केही व्यक्तिले विभिन्न आरोप लगाएको टिप्पणी गर्दै जेनजी युवा पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई गम्भीरतापूर्वक लिएको बताउनुभयाे । उहाँले त्यसको समाधान गर्नतिर लागेको तर त्यो दिन गर्न नपाएको भन्दै चिन्ता व्यक्त गर्नुभयाे। आफूमाथि आरोप लगाए भन्ने कुरा आएकाे बताउदै उहाँले ती आरोपप्रति जवाफदेही हुने समेत बताउनुभएकाे छ। तर देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक रहेकाे उहाँकाे भनाइ छ ।

अध्यक्ष ओलीले समाजमा हतियारको स्थिति अन्त गर्न र शान्तिको सुनिश्चित गर्न पनि जोड दिनुभयाे । प्रहरीको हातबाट खाेसिएका हतियार तत्काल फिर्ता गरी दिनुपर्नेमा उहाँकाे जाड छ ।