Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्ने अध्यक्ष ओलीकाे दावी

पार्टीका नेता तथा कार्यकर्तालाई हरेश नखान आग्रह, मुलुकलाई अघि बढाउन राष्ट्रिय एकता र समझदारीकाे आवश्यक

819
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्रै मुलुकलाई सही बाटोमा फर्काउन सक्ने दावी गर्नुभएको छ।

जेनजी आन्दोलन पछि पहिलो पटक शनिबार भक्तपुरकाे गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । अध्यक्ष ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा फर्काउन संयमताका साथ एकतावद्ध भएर अघि बढ्न पनि सिंगो पार्टी पंक्ति र देशवासीलाई आह्वान गर्नुभयो । एमालेका कार्यकताहरुको घर जलेको र ठूलो क्षति भएको भएता पनि एमाले कार्यकर्तालाई हरेश नखान उहाँले आग्रह गर्नुभएकाे छ। मुलुकलाई अघि बढाउन राष्ट्रिय एकता र समझदारी आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,-‘एमालेका कार्यकर्ताहरुलाई भन्न चाहन्छु– घर जले । कतिपय ठूलो क्षति भयो एउटा परिस्थितिमा । तर हरेश नखानु । एमालेले नै यो यस देशलाई फेरि सही बाटोमा फर्काउने । त्यसकारण म एमालेका साथीहरुलाई हरेश नखान आग्रह गर्न चाहन्छु । सिंगै देशवासीलाई आग्रह गर्न चाहन्छु–हरेश नखानुस् । सबैलाई भन्न चाहन्छु–संयम अपनाउन यतिबेला । र, आक्रोश, रिसराग, वैरभाव होइन, राष्ट्रलाई जोगाउन र शान्ति र समृद्धिको बाटोमा फर्काउन एकता चाहिएको छ । समझदारी चाहिएको छ । त्यसअनुसार अगाडि बढौं । आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले आक्रोश, रिसराग र वैरभाव छोडेर देशलाई अघि बढाउन सबैले अग्रसरता दिनुपर्ने समेत बताउनुभयो ।