
काठमाडाैं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्ने रहेको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणले शुक्रबार शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताउनुभयो । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको उहाँकाे भनाइ छ ।सुशासनको विषयलाई गम्भीर रुपमा लागू गर्नुपर्नेमा उहाँकाे जाेड थियाे ।
जेनजी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रुपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उहाँले उल्लेख गर्नुभएकाे छ। उहाँले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो । अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने उहाँकाे तर्क छ।
मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिवद्ध भएर लाग्न निर्देशन दिनुभयो । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने उहाँकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्