Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


केपी ओलीकाे गुनासाे: ‘मैले भ्रष्टाचार नगर्नु नै अपराध बन्न पुग्याे’


2.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु अपराध बन्न पुगेको गुनासाे गर्नुभएकाे छ ।

काठमाडाैंमा बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलका क्रममा उहाँले यस्तो गुनासाे गर्नुभएकाे हाे । गत भदाै २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनपछि ओलीले सत्ता छाेड्न बाध्य हुनुभएकाे थियाे । उहाँले उक्त आन्दोलनपछि आफू प्रहारको निशानामा परेको पनि स्वीकार गर्नुभएकाे छ ।

उहाँले भन्नुभयाे,-‘अहिले पनि उत्तेजनात्मक, अराजनीतिक, प्रतिशोधात्मक अभिव्यक्ति भइरहेका छन् । हाम्रो सामाजिक चरित्र, मूल्यमान्यता र व्यवहार नै यही हो त ? हैन भने यो कहाँ गइरहेको छ ? कहाँ गएर रोकिन्छ रु समाजमा शान्ति हुन पर्दैन, शान्ति हुन नपर्ने नेपाल मात्रै हो ? हामी नेपालीहरू देश जोगाउनु छ। देशमा सुशासन कायम गर्नुछ, देशलाई अगाडि बढाउनुछ । मलाई राम्ररी थाहा छ, म माथि प्रहारको निशाना केन्द्रित गरिएको छ । मेरो अपराध के हो त ? भ्रष्टाचार नगर्नु अपराध भयो, मैले भ्रष्टाचार गरिनँ । गर्दिनँ, गरेको छैन र गर्दिनँ पनि । यहि अपराध भयो ।’

देशलाई विकासको खाका तयार पारेर अघि बढेको बताउदै उहाँले अशान्ति, सुव्यवस्था कायम गर्ने र हिंसा भड्काउने तत्वहरूलाई मूल धारमा ल्याएको समेत दावी गर्नुभयाे । आगजनी र तोड्फोड लगायतका घटना जेनजी युवाहरूले नगरेको उहाँकाे तर्क छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)तर्फ इंकित गर्दै उहाँले यसअघि कस-कसले सिंहदरबार जलाउँछु भन्दै हिँडेको भन्ने आफूलाई थाहा भएको बताउनुभयाे ।

सरकारले यसको खोजी गरेर कारबाही गर्नुपर्नेमा अध्यक्ष ओलीकाे जाेड थियाे ।