
काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पार्नुभएको छ ।
बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले नेतृत्व छोडेको भएपनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने बताउनुभयो ।
उहाँले राजनीतिक दलहरुभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनैतिक शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । उहाँले प्रमुख तीन परम्परागत दलका शिर्ष नतोहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरुले मुलुकलाई असफल बनाएको टिप्पणी गर्नुभयो ।
उहाँले मुलुकमा सुशासन कायम गर्नको लागि जेन–जी विद्रोह जायज भएपनि केही नेता र वाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको टिप्पणी पनि गर्नुभयो । उहाँले सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरुलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने बताउनु भयो । उहाँले अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रतयक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताउनु भयो। निर्वाचन र शासकीय प्रणालीमा सुधार नगरेर भोलि पनि आजकै भ्रष्ट राजनीतिक दलहरुले देशको नेतृत्व गर्दा मुलुक थप जटिलतातर्फ जाने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । म देशलाई वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनको लागि मैले पद परित्याग गरेको हुँ । अहिले बहस भइरहेको राजनीतिक दल सुध्रिने कि सक्किने भन्ने कुरा छ । त्यसकारण पनि दलहरुमा पुस्तान्तरण गर्न अग्रसर हुनुपर्छ ।
नयाँ शक्तिका रुपमा आएका राजनीतिक दलहरु र युवाहरुको लागि पनि मार्ग प्रशस्त गर्नुपर्छ । पुराना तीन दलका तीन भ्रष्ट पात्रहरुले जसरी मुलुकलाई यस्तो बनाए उनीहरु बिरुद्धको जेनजी विद्रोह जायज थियो । त्यसभित्र पनि प्रतिगमनकारी शक्ति र बाहिरी शक्तिहरुले पनि हात हाल्ने कोसिश गरे । तर भ्रष्ट नेताहरुले जसरी विद्रोहको बदनाम गराउन खोजे त्यो खेदजनक छ ।
म जनआन्दोलनको नेतृत्व गरेको अनुभवको आधारमा पनि आन्दोलन आंशिक सफल भएको छ । यसलाई थप सफल बनाउनको लागि हो । संविधानमार्पत शासकीय सुधार गर्न आवश्यक छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा नजाँदासम्म मुलुकमा राजनीतिक स्थिरता हुदैन । अब निर्वाचनमा जाँदा केही सुधार गरेर नजाँदा भोलि यीनै भ्रष्टाचारीहरुले देशको नेतृत्व गर्ने देखिन्छ । अहिलेसम्म भएका भ्रष्टाचारका काण्डहरुको छानविन गर्नुपर्छ । यतातिर युवाहरुको ध्यान पुगोस् भन्ने चाहाछु ।’
उहाँले जेन–जी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो । उहाँले बुधवार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्