
काठमाडाैं ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउन नसक्ने बताउनुभएको छ ।
नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा गुण्डुस्थित निवासमा शुभकामना दिन पुगेका पार्टीका नेता, कार्यकर्ताहरुसँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था धेरै नै चिन्ताजनक रहेको बताउनुभयो । अहिले राष्ट्रलाई पीर परेको उल्लेख गर्नुहुँदै देश नेपालीले नै बनाउनुपर्ने बताउनु भयो ।
सेन्टीमेण्टमा आक्रोशित हुँदा यो परिणाम आएको उहाँको भनाइ छ । बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो एवं समाजउपयोगी हुनुपर्ने बताउनु भयो । सभ्य, सुसंस्कृत हुनुपर्ने भन्दै असभ्य र गैरजिम्मेवार हुनु युवापन नभएको बताउनु भयो । अहिले नलेज सिकाइने तर क्यारेक्टर नसिकाइएका कारण युवा पुस्तामा यस्तो समस्या आइरहेको बताउनु भयो ।
अहिले नेपाल धेरै बद्नाम भएको उल्लेख गर्नुहुँदै धेरै देशहरुले भिसा रोकेको, काम गर्न वञ्चित गराइएको कुराबाट नेपाल लज्जित हुनुपरेको उल्लेख गर्नुभयो । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्ने र त्यो काम अरु कसैले नगर्दिने उहाँको भनाइ छ । सिंहदरबार, संसद भवन कसले जलायो त्यसबारे जानकारी नरहेको भन्दै अरुको लहलहैमा लाग्दाको परिणामका रुपमा लिनुपर्ने बताउनु भयो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै पहिला पनि सिंहदरबार जलाइदिन्छु भनेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले योजनावद्ध रुपमा सरकारी सम्पती जलाइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘दशैँको शुभकामना । दशैँ राम्रोसँग मनाउनु होला । देशको अवस्था यस्तो छ । मान्यजनको हातको टीका लगाउने, आशिर्वाद लिने हाम्रो चलन । धेरै ठूलो क्षति भएको छ, नोक्शान भएको छ, राष्ट्रलाई पीर परेको छ । चाडवाड आएको छ । यो देश हामीले सच्याउने हो, हामीले सच्याउनुपर्छ, बनाउनुपर्छ । मानिसहरुको बानी बिग्रिएको छ ।
सेन्टीमेण्टमा काम गरेका छन् । हाम्रो बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो हुनुपर्छ । समाज उपयोगी हुनुपर्छ । हामी सभ्य, सुसंस्कृत हुनुपर्छ । असभ्य हुनु, गैरजिम्मेवार हुनु युवापन होइन । जिम्मेवार हुनुपर्छ । असल हुन सिक्नुपर्छ । यो युवाको गुण हो । अहिले नलेज सिकाइन्छ, क्यारेक्टर सिकाइँदैन । अहिले भिसा नदिने, काम नदिने स्थिति नेपालीलाई भइसक्यो । नेपाल एउटा बद्नाम अवस्थामा पुगिसकेको छ । त्यसबाट हामीले जोगाउनु छ । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर अघि बढाउनुपर्छ ।
ठूलो क्षति भएको यसबाट देशलाई अघि बढाउनुपर्छ । यस प्रकारका क्षति नहुन संगठित भएर अघि बढ्नुपर्छ । तर हरेस र हिम्मत खानु हुँदैन । यो देश हाम्रो हो, हामीले बनाउने हो । अरुको लहलहैमा गएर कसले जलायो थाहा छैन । सिंहदरबार जलाइयो । देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलाएन ।
अरु नै घुसपैठ तत्वहरुले जलाए । जो पहिलादेखि नै भन्दै थिएः सिंहदरबार जलाइन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको थोरै पल्ट त भएन त । धेरै पल्ट भइसक्यो । यो एउटा योजनावद्ध काम हो ।’ अध्यक्ष ओलीले बादल लाग्यो भन्दैमा बादल नहट्ने र साँझ पयो भन्दैमा भोलि बिहान उज्यालो हुँदैन भन्ने नहुने टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्