Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


शिक्षामन्त्री पुनका लागि मन्त्रालयमै खाने र बस्ने बन्दोबस्त, अन्य मन्त्री आफ्नै निवासमा


572
Shares

काठमाडौं ।

भैंसेपाटीस्थित नयाँ मन्त्री निवास जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा प्रयोग गर्न अयोग्य बनेपछि वर्तमान सरकारका अधिकांश मन्त्रीहरूअहिले आफ्नै निजी निवासमा बसिरहनुभएकाे छ।

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासमन्त्री कुलमान घिसिङ काठमाडौंको महांकालमा, गृहमन्त्री ओमप्रकाश अर्याल ललितपुरको सानेपामा, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा नारायणहिटी दरबार संग्रहालयनजिकै, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार कलंकी स्युचाटारमा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल इमाडोलमा, र अर्थमन्त्री रामेश्वर खनाल भक्तपुरमा रहेको निजी घरमै बस्नुभएकाे छ ।

प्रधानमन्त्री सुशिला कार्की भने शपथपछि प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएकाे थियाे । उच्च अधिकारीहरूको सल्लाहमा उनी त्यहीँ बसिरहनुभएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमा नै बस्ने इच्छा व्यक्त गरेपछि आवश्यक बन्दोबस्तीका सामानहरूको व्यवस्था गरिएको हो। सिंहदरबारमा सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने क्रममा उहाँले आफूलाई थप सुविधा आवश्यक नभएको स्पष्ट गर्दै मन्त्रालयमै बस्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भैंसेपाटीस्थित नयाँ मन्त्री निवासमा आगजनी र तोडफोड भएपछि २७ मध्ये २६ वटा ब्लक पूर्ण रूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। एकमात्र ब्लक, जसमा निर्वतमान रक्षामन्त्री मानवीर राई बस्दथे, सामान्य मर्मतपछि प्रयोग योग्य रहेको बताइएको छ।

यो घटनाले मन्त्रीहरूका आवास सुविधामा गम्भीर असर पारेको छ। साथै, २०८२ साउनदेखि मन्त्रीहरूको तलब भत्ता निर्धारणको अधिकार मन्त्रिपरिषद्लाई दिइएपछि यससम्बन्धी कानुनमा पनि संशोधन गरिएको छ।