
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने बताउनुभएकाे छ।
अध्यक्ष ओलीले मंगलबार पार्टीका पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफल गरिरहनुभएकाे हाे । साेही छलफल सकेपछि मात्रै पार्टीको बैठक बोलाउने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउनुभएकाे छ । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिवहरू पद्मा अर्याल लगायतसँग छलफल गर्नुभएकाे हाे।
सबैको एक मत भएपछि सचिवालय बैठक बसेर पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने प्रमुख गौतमले जानकारी गराउनुभयाे । जेनजी युवाले गत भदौ २३ र २४ गते गरेको आन्दोलनपछि मुलुकको राजनीतिक अवस्था बदलिएको छ । आन्दोलनपछि गैर दलीय सरकार गठन, प्रतिनिधि सभा विघटन र आगामी फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । संसद विघटनलाई प्रमुख राजनीतिक दलहरूले गैर-संवैधानिक भन्दै आएका छन् । नयाँ परिस्थितिपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरूले पार्टी कमिटीका औपचारिक बैठक बोलाए पनि एमालेले भने अहिलेसम्म त्यस्ता बैठक बोलाउन सकेको छैन ।
आन्दोलनका क्रममा अध्यक्ष ओलीको निजी घर समेत जलाइएपछि उहाँ हाल भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आउनुभएकाे छ । भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीलाई सोही दिनदेखि करिब एक हप्ता नेपाली सेनाको सुरक्षामा बस्नुभएकाे थियाे ।
जेनजी आन्दोलनपछि एमालेभित्र समेत पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको चर्को बहस भइरहेको छ । तर, अध्यक्ष ओली त्यो बहसलाई स्वीकार्न तयार भने हुनुभएकाे छैन।
प्रतिक्रिया दिनुहोस्