Logo ३१ आश्विन २०८२, शुक्रबार | Sat Oct 18 2025


माओवादी मुख्यालय पेरिसडाँडामा शिक्षकहरुको धर्ना


260
Shares

काठमाडौँ ।

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएको छ।

महासंघले आन्दोलनको पहिलो चरणअन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा धर्ना दिएको हो। धर्नामा सहभागी शिक्षकहरूले माओवादी केन्द्रका नेताहरूलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन्। महासंघले यसअघि पनि नेकपा एमाले र नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिइसकेको छ। आगामी दिनमा अन्य राजनीतिक दलका कार्यालयमा पनि यस्ता कार्यक्रम क्रमशः सञ्चालन गरिने महासंघले जनाएको छ।

महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले सरकारसँग भएको ९ बुँदे सहमति अझै पूर्णरूपमा कार्यान्वयन नभएकाले आन्दोलनमा जानु परेको बताइन्। उनका अनुसार प्रतिनिधिसभामा प्रस्तुत भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकले शिक्षक तथा कर्मचारीका मुख्य सरोकारका विषय र विगतका सहमतिहरूलाई अझै सम्बोधन गर्न सकेको छैन। उनले विधेयकमा रहेका असहमतिको समाधानका लागि प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट आवश्यक संसोधन हुनुपर्ने माग राखिन्। महासंघले राजनीतिक दलहरूले उक्त विधेयकमा रहेका असहमतिका बुँदाहरू सम्बोधन गर्न पहल गर्नेमा विश्वास व्यक्त गरेको छ।