
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरमाथि महाअभियोगको प्रस्ताव दर्ता गराउन सांसदहरुलाई हस्ताक्षर गराइएको भन्ने कुरा झुटोभएको दावी गरेका छन् ।
सिंहदरबारमा मंगलबार दुवै राजनीतिक दलले आफ्ना सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराएका हुन् । कारणको बारेमा सबैले उपसभामुख मगरमाथि महाअभियोग प्रस्ताव दर्ता गराउने अनुमान गरेपनि दुवै राजनीतिक दलहरुले यसको खण्डन गरेका छन् । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले हस्ताक्षर गराउन सक्ने र कुनै पनि समयमा प्रयोग गर्न सक्ने बताउनुभयो । उहाँले उपसभामुख मगरले पदीय आचरण पूरा नगरेका कारण उहाँमाथि हटाउन प्रस्ताव पेश हुँदैछ भन्ने कुरा सञ्चार माध्यममा आएको भएता पनि त्यो सही नभएको बताउनुभएको छ ।
त्यस्तै, एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख मगरले पदीय मर्यादा विपरित केही मानिसहरुलाई अमेरिकाका लागि असम्बन्धित कार्यक्रममा लैजान पत्राचार गरेको कुरा संसदमा उठेको समेत बताउनुभयो । तर अहिले सांसदहरुको हस्ताक्षर त्यस प्रयोजनका लागि नभएको उहाँको जिकिर छ । सत्तारुढ दल उपसभामुख मगरमाथि महाअभियोग लगाउने निर्णयमा पुगि नसकेको उहाँको भनाइ थियो । यद्यपि उपसभामुख मगरमाथिको आरोप राफसाफ गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
प्रमुख सचेतक बर्तौलाले उपसभामुख मगरमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय सरकारले नभएर संसदले गर्ने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्