१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


प्रचण्डलाई सचिव कार्कीले भनेः ‘क्रान्तिको नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन’


1.248k
Shares

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृत्व मजदुर, किसान र श्रमजीवि जनताले गर्ने बताउनुभएको छ ।

मजदुर, किसान र श्रमजीवि जनताको मुद्दा बोक्ने विचार नै अबको नविनतम राजनिति भएको उहाँले बताउनु भयो । हाल संसारभर नै पुँजीपति वर्गले समाजको नेतृत्व गरिहेको उल्लेख गर्दै उहाँले पुँजीवादको विकल्पमा समाजवादी व्यवस्था आउने र त्यसको नेतृत्व किसान श्रमजीवि वर्गले गर्ने दाबी गर्नुभयो ।

सबैभन्दा नविनतम राजनिति भनेको नै मजदुर किसानको नेतृत्वमा चल्ने राज्य व्यवस्था रहेको उहाँको भनाई छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अब समाजको नेतृत्व सामान्त वा पुँजीपतिले गर्न नसक्ने दाबी गर्नुभयो । नयाँ भनेर अरु क्रिम पाउडर लगाएर आएकाहरुको पनि राजनितिमा खासै अर्थ नभएको उहाँको भनाई छ ।

यद्यपि किसान, मजदुरको प्रतिनिधि भन्ने दलहरुले आफ्नो औचित्य पुष्टी गर्न नसकेको खण्डमा भने नयाँ शक्तिको उदय हुने सचिव कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रजातन्त्रको वाहक भनेको राजनितिक दलहरु हुन्, यी दलहरुले आफ्नो औचित्य सावित गर्न सकेनन् । उहाँले माओवादी पार्टीले २०६३/२०६४ पछि पार्टीलाई जुन कार्र्यदिशामा लैजानुपर्ने हो त्यतातिर लैजान नसकेको बताउनु भयो । उहाँकाअनुसार पार्टीले मजदुर किसानको राजनितिक वर्चश्व हुने खालको एउटा नयाँ कार्यदिशा, रणनिति अगाडी सार्नुपर्ने थियो । तर आफूहरु सतही कुरामा नै रुमल्लिएर बसेको उहाँको भनाई छ ।

हामीले जुन युद्ध गरेर आएका थियौँ, सेना, जनसेना, जनसत्ता, सर्वहारा अधिनायकत्व भन्ने कुराहरु चाहीँ फेरेपछि अब मजदुर किसानको राजनिति वर्चश्व कायम गर्ने खालको अर्काे लाइन लिनपर्ने बताएका छन् । नेपाल १९९० देखि नै विश्व पुँजीबादी प्रणालीमा बाँधिएकोले यहाँका उद्योग, कलकारखाना सबै निजीकरण भएको उहाँको दाबी छ । स्वास्थ्य, शिक्षा जस्तो कुरालाई निजीकरण गरिएर व्यापारको विषय बनाईएको उहाँले बताउनुभयो । राजनितिक पार्टी खासगरी नेकपा एमालेको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यको व्यापारमा गएको उहाँको आरोप छ । समाजवादको बीज अंकुरण हुने ठाउँ शिक्षा र स्वास्थ्य नै व्यापारमा गएको उहाँले बताउनुभयो ।

पार्टी विघटन गर्न सकिएन भने पुनःगठन हुँदैन
माओवादी सचिव कार्कीले पार्टीलाई विघठन गर्न सक्नुपर्ने बताउनुभएको छ । पार्टीको, सत्ता सबै कुराको निश्चित आयु हुने भएकोले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्ने उहाँको भनाई छ । पार्टीलाई आवधिक र आंशिक रुपमा विघटन गर्न सक्नुपर्ने भन्दै उहाँले विघठन गर्न सकिएन भने पुनःगठन गर्न नसकिने बताउनुभयो । पार्टीलाई विघटन गरेर नयाँ कार्यदिशा दिनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘पार्टीको, सत्ताको कुनैपनि कुराको आयु हुन्छ । व्यक्तिमा जस्तै पार्टीमा, सत्तामा पनि कमजोरीहरु हुन्छ । तर त्यहाँ त्यसलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्छ । माओत्सेतुङको भाषामा भन्ने हो भने चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति चल्यो त्यो बेलाको एउटा सार के हो भने पार्टीलाई पनि आवधिक रुपमा र आंशिक रुपमा विघटन गर्न सक्नुपर्छ । विघठन गर्न सकिएन भने पुनःगठन हुँदैन ।

कार्यकारी भुमिकामा निरन्तर रहनुहुँदैन
उहाँले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्नेमा जोड दिनुभयो । खास उमेरमा पुगेपछि, अनुभव गरिसकेपछि पनि कार्यकारी भुमिकामा रहनु उचित नहुने उहाँको भनाई छ । क्रान्तिको नेतृत्व गर्न, अगुवाई गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी नभएको उहाँले बताउनु भयो । युवा नयाँ उत्साह भएकाहरुलाई पदाधीकारी ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । वैचारिक रुपमा, राजनितिक रुपमा अगुवाई गर्ने गरी संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई हटाएर मात्रै पनि समस्याको समाधान नहुने बताउनुभयो । एउटा व्यक्तिलाई मात्रै फेरेर केही नहुने भन्दै उहाँले पूरै कार्यदिशा, रणनिति र नेतृत्व फेर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले भन्नुभयो, ‘अब एउटा खास उमेरमा पुगेपछि, खास अनुभव गरिसकेपछि हामीले अर्को रोलमा जानुपर्छ । हामीले अर्को भुमिका निर्वाह गर्नुपर्छ ।

हामी कार्यकारी भुमिकामा रहनु हुँदैन । ठीक छ, क्रान्तिको नेतृत्व गर्ने, अगुवाई गर्ने तर त्यसको निम्ति पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन । जसले ईतिहासमा एउटा भुमिका खेलिसकेको छ । त्यो भुमिका खेल्नेहरुले अब पदाधिकारी बनिरहन पर्दैन । पदाधिकारी चाहीँ हामी युवालाई, नयाँ उत्साह भएकाहरुलाई ल्याउन सक्छौँ । हामीले वैचारिक रुपमा, राजनितिक रुपमा अगुवाई गर्नसक्छौँ । नेतृत्व दिनुसक्छौ । त्यसको निम्ति अब संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक छ ।’
पार्टीको कार्यदिशा, रणनिति, नेतृत्व सवै क्रान्तिकारीकरण हुनुपर्ने उहाँको भनाई छ । यस्तै उहाँले पारदर्शीता हुनुपर्नेमा जोड दिनुभयो । प्रजातन्त्र र समाजवादसँग पारदर्शी शब्दको अविभाज्य सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले हाम्रो जीवन लुकेको छ भने जनताले शंका गर्ने बताउनुभयो । –न्युज एजेन्सी नेपाल