४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


निकुञ्जभित्रका खानीहरुको उत्खनन गर्न नपाउने कानून निर्माण गर्न हुँदैन : सांसदहरु


351
Shares

काठमाडौं । सांसदहरुले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका खानीहरुको उत्खनन नै गर्न नपाउने गरी कानून निर्माण गर्न नहुनेमा जोड दिएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रात्यायोजित विधायन समितिको बैंठकमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले सबैको उद्देश्य वातावरण पनि नबिग्रियोस्, विकास पनि होस्, वन्यजन्तुको अधिकार पनि सुनिश्चित होस् भन्ने नै रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताए ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सुमित्रा बिसीले निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने बताउनुभयो । उहाँले निकुञ्जभित्र रहेका खानीहरुको अन्वेषण गर्न दिने मात्रैले नपुग्ने भन्दै त्यहाँका खानी उत्खनन गर्न पनि दिनुपर्ने बताउनुभयो । निकुञ्जभित्रै उद्योग खोल्न दिनेकुरा गलत रहेको र उत्खनन गरेर देशको विकास गर्ने काम राम्रो भएको बताउनुभयो । कानून बनाउने नाममा निकुञ्जभित्रको केही प्रयोग गर्नै नमिल्ने बनाउनुले केही अर्थ नराख्ने बताउनुभयो । सांसद बिसीले समितिले दिएको सुझाव भविष्यमा पछुतो हुने खालको हुन नहुने बताउनुभयो ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद श्रीकृष्णप्रसाद अधिकारीले राष्ट्रिय निकुञ्जको संरक्षणको लागि कसिलो कानून बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय निकुञ्जभित्र पर्ने चितवनको माडी र ठोरीलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा चुनौतिको विषय रहेको बताउनुभयो । राष्ट्रिय निकुञ्जभित्रका खानीहरुको उत्खनन आवश्यकता र अपरिहार्यताअनुसार गर्नुपर्ने बताउनुभयो ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर विष्टले नेपालमा विकास भनेको बाटो र बिजुली मात्रै हो भन्ने भाष्य निर्माण गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय निकुञ्जभित्र उद्योग सञ्चालन गर्न दिनु नहुने भन्दै निकुञ्जभित्र उद्योग धन्दा सञ्चालन गर्दा ठूलो विरोध हुनसक्ने र आफ्नो भइरहेको सम्पती पनि गुम्ने खतरा रहेको बताउनुभयो ।

समितिको बैठकमा सांसदहरुले राष्ट्रिय निकुञ्ज महत्वपूर्ण क्षेत्र भएकाले सबैले बुद्धिमतापूर्वक यसबारेमा निर्णय गर्न सुझाव दिएका छन् ।