१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔं : सांसद प्रधान


2.145k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी गरिसकेको व्यक्तिको चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिनुपर्ने माग गर्नुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद प्रधानले माग गर्नुभएको हो । कुनैपनि व्यक्तिले कैद सजाय भुक्तानी गरिसकेपछि प्रहरीको रिपोर्टमा उसले गरेका कामहरु, सजाय भुक्तानी गर्नुपर्नाको कारण, कति दिन कैद सजाय भोगेको हो भन्ने सबैकुराको रिपोर्ट हुने गरेको बताउनुभयो ।

त्यस्तो रिपोर्ट दिँदा उसले जीवनमा अर्को काम गर्न नपाउने स्थिति सिर्जना हुने भन्दै चारित्रिक प्रमाणपत्र दिँदा केद सजाय भुक्तानी गर्नुको कारण, गरेको समयबारे उल्लेख नगरी दिनुपर्ने बताउनुभयो । प्रहरीले राख्ने रिपोर्टमा भने उक्त कुराहरु उल्लेख गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद प्रधानले यसबारेमा सर्वोच्च अदालतले पनि परमादेश जारी गरिसकेको तर गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको बैठकले यसबारे त्यसो गर्न नमिल्ने निर्णय गरेअनुसार रिपोर्टमा सबैकुरा उल्लेख हुने गरेको बताउनुभयो । यसबारेमा सरकारले सोच्न जरुरी रहेको उहाँको भनाइ छ ।

उनीहरुको बाँच्न पाउने अधिकारबाट वञ्चित गर्न नहुने आफ्नो माग रहेको बताउनुभयो ।