
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले विदेश भ्रमणलाई उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
जनताको करमा विदेश भ्रमण गर्ने तर उपलब्धि नहुने वा विदेशमा सिकेका संसदीय अभ्यासहरु नेपालमा आएर लागू नगर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको हो ।
बिहीबार सिंहरदरबारमा बसेको नेपाल-बेलायत संसदीयमैत्री समूहको बैठकमा बोलदै उहाँले विदेश जाने कुरा जानका लागि जाने मात्रैमा सिमित हुन नहुने बताउनुभयो । विदेश भ्रमणबाट देशलाई के लाभ भयो भन्नेकुरा महत्वपूर्ण हुने पनि बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सको विधान लण्डन चेम्बर अफ कमर्सको विधान सापटी लिएर बनाइएको पनि बताउनुभयो । उहाँले लण्डन चेम्बर अफ कमर्सको विधानलाई नेपालीमा अनुवाद गरेर नेपाल चेम्बर अफ कमर्सको विधान बनाइएको बताउनुभयो ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले कानून बनाइसकेपछि कार्यान्वयन भए/नभएको बारेमा अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले उत्तर विधायिकी परीक्षण धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।
व्यवसायी राजेन्द्र खेतानले बेलायती नेपालीहरुको चाहना नेपालको माटोमा लगानी गर्ने रहेको बताउनुभयो । उहाँले लगभग एक लाख नेपाली बेलायतमा भायब्रेण्ट सोसाइटीको रुपमा रहेको र उनीहरु नेपालमा लगानी गर्ने चाहनामा बसेको बताउनुभयो ।
उहाँले बेलायतमा रहेका नेपालीहरु आर्थिक अवस्थामा धेरै सुदृढ रहेकोले नेपालमा लगानी गर्ने चाहनालाई नेपाल सरकारले उचित वातावरण मिलाएर अघि बढाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्