३० असार २०८२, सोमबार | Tue Jul 15 2025


कांग्रेस महाधिवेशनको प्रक्रियामा अघि बढ्न सकेन : नेता घिमिरे


416
Shares

काठमाडौं । नेपाली कांग्रेस नेता गुरु घिमिरेले नेपाली कांग्रेस महाधिवेशनको प्रक्रियामा अघि बढ्न नसकेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता घिमिरेले यो वर्ष महाधिवेशनको वर्ष भएको उल्लेख गर्दै देश सामान्य रुपबाट अघि बढिरहेको अवस्थामा सम्पूर्ण ध्यान महाधिवेशनमा लगाउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । समयमै महाधिवेशन गरेर २०८४ को आम निर्वाचनतिर ध्यान केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । २०८४ को निर्वाचन नेपाली कांग्रेसका लागि संकटपूर्ण हुनेवाला रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले आफूहरु कांग्रेस बन्दा कांग्रेस पार्टीको अधिवेशनमा समेत सयौँको संख्यामा प्रहरी प्रयोग गरेर सभापति बन्छन् भन्ने सोचेर नबनेको बताउनुभयो । उहाँले कांग्रेस पछिल्लो समय पार्टीको सिद्धान्तबाट विचलित हुँदै गएको बताउनुभयो ।

कांग्रेस नेता राधेश्याम पाठकले आफूहरुमाथि गरिएको कारबाही विधान विपरित रहेको बताउनुभयो । उहाँले आफूहरु हामी विपीको लोकतन्त्र, समाजवाद र राष्ट्रियतामा हिँड्ने भएकाले कारबाहीको प्रवाह नगर्ने बताउनुभयो ।

कांग्रेसको अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै केही नेता, कार्यकताहरुलाई कारबाहीको सिफारिस गरेको छ । कारबाहीप्रति केही नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।