
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलबाट प्राप्त सुझाव निरर्थक नहुने बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा सांसदहरुले दिएका राखको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले आगामी बजेट निर्माणका सन्दर्भमा सांसदहरुले व्यक्त गरेको चिन्ता, सुझाव र विचार निरर्थक नहुने बताउनुभयो । उहाँले प्राप्त सुझावलाई बजेट निर्माणका क्रममा ख्याल गर्ने र सोही सुझावबाट निर्देशित भएर बजेट निर्माण हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।
अर्थमन्त्री पौडेलले बजेट अनुशासनका सन्दर्भमा यसबीचमा धेरै गहकिला अनुभवहरु आर्जन गरेको बताउँदै उहाँले वित्त सन्तुलन र बजेट अनुशासनमा रहेकर जनताका आकांक्षालाई सम्बोधन गर्नेतर्फ ध्यान दिने स्पष्ट पार्नुभयो । साथै उहाँले वित्त सन्तुलन र बजेट अनुशासनमा फर्कन नसक्ने हो भने जनताका आकांक्षा पनि सम्बोधन नहुने र समृद्धितर्फ पाइला चाल्नसमेत नसकिने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले नीति कार्यक्रमसँग यो सिद्धान्त र प्राथमिकता मेल रहेको वर्तमान अवस्थामा विकासको ढाँचा, गति र संस्कृति परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्