
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद गौतमले दश वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरुले केही पनि गर्न नसकेको बताउनुभयो । उहाँले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्नेगरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताउनुभयो ।
सांसद गौतमले नेपालको कुनै पनि सार्वजनिक स्थानमा जाँदा जनताहरु नेता तथा व्यवस्थाको विरुद्धमा रहेको जिकिर गर्नुभयो । उहाँले समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको बताउनुभयो । उहाँले दलहरुले समयमै सचेत भएर जन गुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । देश ठूलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार पनि कसैले रोक्न नसक्ने उहाँको भनाइ छ ।
सांसद गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको तर कुनैपनि नेताहरुले त्यसबारेमा अध्ययन नगरेको गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्