१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सरकारले जेन जी पुस्तालाई सम्बोधन गर्न आवश्यक प्रतिवद्धता देखाएन : अर्जुननरसिंह केसी


234
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले जेन जी पुस्तालाई सम्बोधन गर्न आवश्यक प्रतिवद्धता नदेखाएको भन्दै आलोचना गर्नुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता केसीले जेन जी पुस्ता (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका युवायुवती)को समस्यालाई सम्बोधन गर्न सरकारले ठोस योजना नल्याएको बताउनुभयो । उहाँले दैनिक तीन हजारदेखि ५ हजार युवाहरू रोजगारीको निम्ति विदेशिएको र दैनिक तीनदेखि ५ वटासम्म शवहरू नेपाल फर्किने गरेको बताउनुभयो ।

नेता केसीले यसको उपचारको खोजी नगरी जेन जी पुस्ताको नयाँ नामकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न नसकिने जिकिर गर्नुभयो । उहाँले जेन पुस्तापछि जन्मिएको अल्फा पुस्ता पनि लागूपदार्थ दुव्र्यसनी, चिन्ता र आत्महत्याजस्ता समस्याबाट पीडित भएको उल्लेख गर्दै यस्ता मुद्दालाई राष्ट्रिय सामाजिक आन्दोलनका रूपमा विकास गर्न सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।

नेता केसीले युवा पुस्ताको भविष्य सुनिश्चित गर्न ठोस नीति र प्रतिबद्धता आवश्यक रहेको जिकिर गर्नुभयो ।