
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामूहिक कथा श्रम शोषण, अन्याय, असमानता र अदृश्यता भएको बताउनुभएको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठान परिसरमा आयोजीत दुईदिने “जलवायु परिवर्तन र मर्यादित श्रम अभियान–२०२५“ को उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा उहाँले सम्बोधन गर्नुभएको हो । मन्त्री सुडीले संविधानमा व्यवस्था गरिएका सम्मानको अधिकार, समानताको अधिकार, श्रमको अधिकार, महिलाको अधिकार लगायतका अधिकारहरू अनौपचारिक क्षेत्रका श्रमिकहरू (जो मुख्य रूपमा महिला र सीमान्तकृत समुदायका हुन्)को हकमा व्यवहारमा ल्याइनु आवश्यक रहेको बताउनुभयो ।
श्रम अधिकार मानव अधिकारको मात्रै विषय नभई आर्थिक न्याय र समानताको समेत विषय भएको उहाँको भनाइ थियो । कार्यक्रममा एक तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “अहिले ८५ प्रतिशतभन्दा बढी श्रमिकहरू अनौपचारिक क्षेत्रमा आवद्ध छन् र तीमध्ये ९० प्रतिशतभन्दा बढी महिला छन् । श्रम अधिकारको ग्यारेन्टी, मर्यादित श्रमको स्थापना र जलवायु न्यायको सुनिश्चितता बिना दिगो विकास लक्ष्यहरूतर्फको हाम्रो यात्रा अधुरो रहन्छ।“
मन्त्री सुडीले सरकार नागरिक समाज, श्रमिकहरू तथा श्रमिकको आवाज सुन्न र सम्बोधन गर्न प्रतिबद्ध अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरिरहेको बताउनुभयो । साथै, उनले श्रमिकहरूलाई थप एकताबद्ध भएर आफ्ना अधिकारका आवाजहरू बुलन्द गर्न आह्वान गर्नुभयो ।
मन्त्रीको भनाइ अघि, प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति सदस्य सन्तोष परियारले मे ५ (बैशाख २३) को दिन ऐतिहासिक रूपमा महत्वपूर्ण भएको उल्लेख छ । “यदि हामी समाज परिवर्तन चाहन्छौं भने महिलाहरू, दलित, आदिवासी र श्रमिक समुदायको आवाज बुलन्द गर्नु जरुरी छ,” उहाँले भन्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सुर्यप्रसाद शर्मा ढुंगेलले अनौपचारिक क्षेत्रमा श्रमिकहरूलाई भइरहेको शोषणप्रति ध्यानाकर्षण गराउँदै, २० वर्षभन्दा बढी समयदेखि श्रमिक अनौपचारिक क्षेत्रमा रहेको जनाउँदै, संसद लगायतका हरेक मञ्चमा उनीहरूको आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि, सहकारी तथा स्रोत समिति सदस्य कुसुम देवी थापाले जलवायु संकटबाट अनौपचारिक क्षेत्रका श्रमिकहरू प्रताडित भएको उल्लेख गर्दै, कार्यक्रममा गरिएका निष्कर्षहरूको कार्यान्वयनमा समिति अनौपचारिक क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।
नेपाल महिला एकता समाज, युथ एडभोकेसी नेपाल र एक्सनएडको आयोजनामा भएको उक्त दुईदिने कार्यक्रममा ५३ विभिन्न संघ–संस्थाहरूको सहयोग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्