काठमाडौं । विपक्षी दलका सांसदहरुले स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारको प्रतिनिधि सभाको बोल्दै उनीहरुले गुठी पीडितहरू लामो समयदेखि काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत रहेको भएपनि उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको आरोप लगाउनुभयो । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले स्वर्गद्वारी गुठी जग्गाबाट निस्कासित भएकाहरूलाई पुनःस्थापित गर्न माग गर्नुभयो ।
सांसद शर्माले किसानले रैतानीबापत बुझाउनुपर्ने रकम वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने र जोतभोग गर्दै आएको जमिन मोहीको नाममा कायम गर्नुपर्ने किसानका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । संविधान जारी भएको लामो समय भइसक्दा समेत गुठीसम्बन्धी कानून नबन्दा आज मोही किसान मर्कामा परेको उहाँको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले गुठी पीडित किसान लामो समयदेखि आन्दोलनरत हुँदा समेत सरकारको ध्यानाकर्षण नहुनु जनताप्रति सरकारको गैरजिम्मेवारीपनको ज्वलन्त उदाहरण भएको बताउनुभयो । उहाँले स्वर्गद्वारी गुठीका मोही किसानले उठाउनुभएका जायज मागहरुप्रति सरकारको ध्यानकर्षण गराउनुभयो ।
सांसद चौधरीले किसानको सरकारसँग दुई बुँदे सम्झौता भएको धेरै समय भइसकेको भएपनि यो कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले आफ्नै देशका नागरिकले उठाउनुभएको न्यायसंगत मागप्रति सरकार रत्तिभर पनि संवेदनशील नहुनु सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठ भएको समेत आरोप लगाउनुभयो ।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले सत्तारुढ दलका नेताहरुले अध्यदेशले देश नै खुशी भइरहेको टिप्पणी गरिरहेको उल्लेख गर्दै ति किसानलाई सोध्न पठाउनुपर्ने बताउनुभयो । उहाँले स्वर्गद्वारी गुठीका मोही किसानको माग पूरा गर्न सरकार गम्भिर नभएको भन्दै सभामुखमार्फत ध्यानाकर्षण गराउनुभयो ।
स्वर्गद्वारी गुठी पीडित मोही किसानले विभिन्न तीन बुँदे माग राख्दै काठमाडौंमा आन्दोलन जारी राखेका छन् । आइतबारदेखि काठमाडौंको माईतीघरमा दाङ देउखुरीबाट आएका स्वर्गद्वारी गुठी पीडितहरुले २०४५ सालदेखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि न्यायपूर्ण मागको सुनुवाई नभएको भन्दै काठमाडौंमै आएर आन्दोलनमा उत्रिएका हुन् ।
मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानूनी व्यवस्था गर्न, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निस्काषित मोहीको हक पुनस्र्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरिदिन उनीहरुको माग रहेको छ ।










प्रतिक्रिया दिनुहोस्