Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


न्यायाधीशहरुको नियुक्ति समावेशी आधारमा हुन्छ : कानूनमन्त्री चौरसिया


78
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले गर्ने न्यायाधीश नियुक्ति समावेशी आधारमा गरिने बताउनुभएको छ ।

नेपाल बार एशोसिएशन र युवा कानून व्यवसायी सरोकार समाजद्वारा बुधबार काठमाडौंमा आयोजित पहिलो युवा कानून व्यवसायी सम्मेलनमा बोल्दै मन्त्री चौरसियाले संविधानले नै समावेशीको अवधारणा स्वीकार गरेकाले न्यायाधीश नियुक्ति पनि समावेशीताका आधारमा प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री चौरसियाले सरकारले न्यायधीश नियुक्तिमा कानून व्यवसायीहरुको हिस्सा कमी नुहने उल्लेख गर्नुभयो । उहाँले सुशासन, पारदर्शीता,कानूनी शासनको प्रत्याभुत हुनेगरी सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले सुशासन कायम गर्नका लागि सरकारले अध्यादेशमार्फत कानूनहरु ल्याएको बताउनुभयो ।

मन्त्री चौरसियाले युवा कानून व्यवसायीहरूको पेशागत सुरक्षा र हकहितका लागि काम गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । उहाँले सुशासन, पारदर्शी, कानूनी शासन तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले योजनावद्ध रूपमा काम गरिरहेको बताउनुभयो ।

मन्त्री चौरसियाले सरकारले ल्याएको अध्यादेशले मुलुकको अर्थतन्त्र सुधार र लगानी प्रवद्र्धनको लागि समेत सुधार गर्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले अहिलेको संदनबाट अध्यादेशमार्फत आएका कानूनहरु पास गरिने बताउनुभयो ।