Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


डेंगु नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध


351
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगु नियन्त्रणमा लाग्न सबैलाई अनुरोध गर्नुभएको छ ।

देशका केही जिल्लामा डेंगुको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीले आज भिडियो सन्देशमार्फत सबैमा अनुरोध गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियन्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले डेंगु सार्ने लामखुट्टेको नियन्त्रण गर्न लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभयो, “नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेंगु नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु ।”