Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


रविले सहकारी ठगी गरेको पुष्टि भयो : गगन थापा


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको बताउनुभएको छ ।

सहकारी भित्र बसेर भन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानविन समितिको प्रतिवेदनले स्पष्ट देखाएको महामन्त्री थापाको दाबी थियो ।

बुधबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले लामिछानेले आफूहरुले सोचेभन्दा धेरै करिब ६५ करोड ठगी गरेको पनि संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो ।

महामन्त्री थापाले सो विशेष समितिमा रहेका रास्वपाका सांसद शिशिर खनालले लामिछानेले सहकारीमा ठगी गरेको स्वीकार गर्दै सो प्रतिवेदनमा हस्ताक्षर गरेर पनि बाहिर आएको क्लिन चिट पाएको भनेर छट्टु कुरा गरेको बताउनुभयो । उहाँले पार्टी उपसभापति धनराज गुरुङ माथि पनि सहकारी ठगीको आक्षेप लागेको र त्यसको तथ्य पत्ता लगाउनका लागि आफूहरुले सरकारलाई भनेको पनि बताउनुभयो ।

महामन्त्री थापाले संसदीय छानविन विशेष समितिले बुझाएको सो प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लैजाने विश्वास समेत व्यक्त गर्नुभयो ।