Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


शेयर बजारमा उच्च अंकको गिरावट


2.1k
Shares

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेर २७ सय मुनि आएको छ ।

नेप्से परिसूचक आज ५३ दशमलव ६३ अंक घटेर २६९५ दशमलव ९३ विन्दुमा झरेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहिबार १२ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३३७ वटा स्टकको दुई करोड ६२ लाख ४६ हजार कित्ता शेयर १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूह शून्य दशमलव ८ प्रतिशतले बढेको बाहेक अरु सबै उपसमूहको परिसूचक घटेका छन् । वित्त उपसमूह सर्वाधिक ३ दशमलव ४४ प्रतिशतले घट्दा बैंकिङ्ग, होटल तथा पर्यटन र जलविद्युत उपसमूह २ प्रतिशतभन्दा बढीले घटेका छन् ।

यस्तै विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् । घटेको बजारमा पनि सुपरमाइ हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने हिमालय पावर पार्टनर र कुथेलीबुखरी साना जलविद्युतको शेयर मूल्य साढे ८ प्रतिशत बढीले बढेको छ । तर पिपुल्स हाइड्रोपावर कम्पनी, माइ खोला हाइड्रोपावर र थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज गुडविल फाइनान्सको सर्वाधिक ५२ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने दोस्रो नम्बरमा रहेका हिमालयन रि इन्स्योरेन्स र नेपाल फाइनान्सको ३३ करोड रुपैयाँ भन्ना बढीको शेयर किनबेच भएको छ ।

Skip This