
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजन दाहाल (लेखनाथ)ले आफूलाई अनावश्यक आरोप लगाइ विरोधीहरुले चरित्र हत्या गर्न खोजेको बताउनु भएको छ ।
सिन्धुलीमा माओवादी पार्टी कार्यालयको भवन निर्माण सम्पन्न भएर संचालनमा आइसकेको अवस्थामा कतिपयले आफूलाई अनियमितता गरेको भनेर जनतालाई भ्रमित पार्न अफवाह फैलाएको भन्दै दाहालले त्यसप्रति आपत्ति जनाउनु भएको छ । आफू सधै देश र जनताको पक्षमा रहेको र आफूले गरेको राम्रा काम देखेर विरोधीहरु झस्किएर गलत प्रचारमा लागेको दाहालको दाबी छ । पार्टी कार्यालय बनाउँदा आफूले राम्रो काम गरेको हुनाले विभिन्न कुतर्कहरुको सामना गर्नु परेको सांसद दाहालको भनाइ छ ।
माओवादी पार्टी भित्रैका केहीले राजनीतिक पूर्वाग्रह राखेर विरोधीहरुसँग मिलेर चरित्र हत्या हुने गरि अनावश्यक प्रचार गरिएको दाहालले बताउनुभयो । ”विरोधीहरुले जतिनै मलाइ खुइल्याउन र जनताको बिचमा जतिनै भ्रम पार्न खोजे पनि जनता यस विषयमा प्रष्ट छ्न् ।” दाहालले भन्नुभयो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं तत्कालीन सिन्धुली जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य दाहालको नेतृत्व तथा उहाँकै पहलकदमीका कमलामाई नगरपालिका–६ माढीबजारमा १२ धुर जग्गा खरिद गरि कार्यालय भवन समेत निर्माण सम्पन्न भइसकेको छ । सो आधुनिक भवनको २०७८ चैतमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले उदघाटन गर्नु भएको थियो ।
कार्यालय भवन निर्माण प्रक्रियामा पार्टीको लेटरप्याड तथा सहयोग रसिद बिना नै सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक आव्हान गरेर सहयोग गर्न अपिल गरेको र दाताहरुले स्वेच्छिक रुपमा उत्साहित भएर सहयोग गरेका दाहालले बताउनुभयो । उहाँले भवन निर्माणका लागि खर्च भएको सबै हिसाव किताब सार्वजनिक गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्